३४ प्रतिशत महिलामा रक्तअल्पताको समस्या, कुन प्रदेशमा कति?

suman100@gmail.com' suman basnet
१९ मंसिर २०७९, सोमबार १२:२९

स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षणले महिलाहरुमा रक्तअल्पताको समस्या घटेको देखाएको छ। सन् २००६ मा १५ देखि ४९ वर्ष उमेर समुहका महिलाहरूमा रक्तअल्पताको समस्या ३६ प्रतिशत थियो। उक्त सङ्ख्या बढेर सन् २०१६ मा ४१ प्रतिशत पुगेको थियो। २०२२ मा आइपुग्दा उक्त सङ्ख्या घटेर ३४ प्रतिशतमा झरेको छ। मन्त्रलयले देशभरका ७ हजार ३२९ महिलाहरुमा उक्त अनुशन्धान गरेको हो। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडिएचएस) को प्रतिवेदनले पाँच वर्षअघिको तुलनामा रक्तअल्पता भएकाको संख्यामा केही सुधार आएको देखाएको हो। नेपालमा हरेक पाँच वर्षमा एनडिएचएस सर्वेक्षण हुँदै आएको छ। यो सर्वेक्षण न्यु एरा नामक संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागी गर्दै आइरहेको छ।

एनडिएचस २०२२ को प्रतिवेदन अनुसार ३४ प्रतिशत महिलाहरु एनिमिक अर्थात् रक्तअल्पता भएको छ। जसमध्ये १८ प्रतिशतलाई हल्का, १५ प्रतिशतलाई मध्यम र १ प्रतिशतलाई गम्भीर रूपमा रक्तअल्पताको समस्या छ।

कुन उमेर समूहका कति जोखिममा?

उक्त रिपोर्टमा ५ देखि १९ वर्ष उमेर समुहका ३९.४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २१.३ प्रतिशतलाई हल्का, १६.२ प्रतिशतलाई मध्यम र २ प्रतिशतलाई गम्भीर किसिमको रक्तअल्पता देखिएको छ।

त्यस्तै, २० देखि २९ उमेरका ३४.५ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २०.४ प्रतिशतलाई हल्का, १३.४ प्रतिशतलाई मध्यम र ०.७ प्रतिशतमा गम्भीर रक्तअल्पता देखिएको छ।

३० वर्ष देखि ३९ वर्ष उमेर समुहका ३०.२ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १५.९ प्रतिशत हल्का, १३.४ लाई मध्यम र ०.८ प्रतिशतलाई गम्भीर रक्तअल्पता देखाएको छ।

त्यसैगरी, ४० देखि ४९ उमेर समुहका ३३.९ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १६.१ मा हल्का, १६.५ मा मध्यम र ०.९ मा गम्भीर किसिमको रक्तअल्पता देखिएको छ।

       धेरै बच्चा जन्माउने महिलाहरुलाई खतरा

धेरै बच्चा जन्माएकाहरुलाई रक्तअल्पताको खतरा रहेको रिपोर्टले देखाएको छ। तथ्यांक अनुसार जीवित बच्चाको सङ्ख्या शून्य रहेका २ हजार ८३ महिलाहरु मध्ये ३६ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १९.८ हल्का, १४.७ मध्यम र १.५ गम्भीर किसिमको रक्तअल्पता छ। त्यस्तै, एउटा बच्चा भएका १ हजार ३२९ महिलाहरुमध्ये ३१.३ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये, १९.३ हल्का, ११.२ मध्यम र ०.८ प्रतिशत गम्भीर रक्तअल्पताका समस्या भोगीरहेका छन्। दूई या तीन बच्चा भएका २ हजार ९१५ महिलाहरु मध्ये ३२.९ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १८.२ हल्का, १४.१ मध्यम र ०.७ गम्भीर रक्तअल्पता भएको देखाएको छ। यसैगरि, ४ या ५ बच्चा भएका ८३३ महिलाहरु मध्य ३६.२ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १५.५ हल्का, १९.४ मध्यम र १.३ प्रतिशत गम्भीर किसिमको रक्तअल्पता भएको छ।

साथै, ६ या सो भन्दा धेरै बच्चा भएका ३६.४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १४.८ हल्का, २१ प्रतिशत मध्यम र ०.६ प्रतिशत गम्भीर किसिमका रक्तअल्पता देखिएको छ।

मातृत्व अवस्थाका अनुसार
उक्त अध्ययनमा ३०७ जना गर्भवतीहरुको रक्तअल्पताको स्तर जाँच गरिएको थियो। ति मध्ये रिपोर्टअनुसार ३२.७ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २०.२ हल्का, १२.४ मध्यम र ०.२ प्रतिशतमा गम्भीर किसिमको रक्तअल्पता भएको देखिन्छ।

त्यस्तै गर्भवती नभएका ७ हजार २२ जना महिलाहरुमध्ये ३४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १८.४ हल्का, १४.६ मध्यम र १ प्रतिशतमा गम्भीर रक्तअल्पता भएको देखिएको थियो।

मुस्लिम समुदायका महिलाहरुमा रक्तअल्पता बढी
समुदायका हिसाबमा हेर्दा सबैभन्दा बढी मुस्लिम समुदायका महिलाहरुमा रक्तअल्पता देखिन्छ। मुस्लिम समुदायका ३०९ महिलाहरु मध्ये ५० प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २१.२ प्रतिशतमा हल्का, २५.७ मा मध्यम र ३ प्रतिशतमा गम्भीर किसिमको रक्तअल्पता पाइएको छ।

त्यस्तै ब्राह्मण/क्षेत्रीमा २ हजार ८२ मध्य २५.६ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये क्रमश: १५.९, ९.२ र ०.५ प्रतिशत हल्का, मध्यम र गम्भीर रक्तअल्पता भएका महिलाहरु छन्।

दलित समुदायमा पनि रक्तअल्पताको जोखिम उच्च रहेको तथ्यांकले देखाएको छ। १ हजार ८ जना दलित महिलाहरु मध्य ३६.३ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २०.२ प्रतिशतमा हल्का, १५.४ प्रतिशतमा मध्यम र ०.७ प्रतिशतमा गम्भीर किसिमको रक्तअल्पता छ।

यसैगरी २ हजार ६६८ जनाजाति महिला मध्य ३१.४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १७ प्रतिशतमा हल्का, १३.४ मा मध्यम र ०.९ प्रतिशतमा गम्भीर किसिमको रक्तअल्पता देखिएको छ।

साथै, मधेशी मुलका १ हजार १५७ महिला मध्य ४८.४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २३.९ हल्का, २२.७ मध्यम र १.८ प्रतिशत गम्भीर किसिमको रक्तअल्पताबाट पिडित रहेको तथ्यांकले देखाउछ।

मधेश प्रदेश जोखिममा
सातवटै प्रदेशको तथ्यांक नियाल्दा मधेश प्रदेश रक्तअल्पताको जोखिममा रहेको देख्न सकिन्छ। उक्त प्रदेशमा १ हजार ४५८ जना महिलाहरु मध्ये गरिएको अध्ययनमा ५२.४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २५.२ हल्का, २५.३ मध्यम र १.९ प्रतिशतमा गम्भीर रक्तअल्पता देखिएको छ।

यस्तै प्रदेश १ का १ हजार २३५ महिलाहरुमा २७.६ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १५.३ हल्का, ११.४ मध्यम र ०.९ प्रतिशत गम्भीर रक्तअल्पता छ।

बागमती प्रदेश प्रदेशका १ हजार ५४६ महिलाहरुमा गरिएको उक्त अनुसन्धानमा २३.१ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १४.६ हल्का, ८ प्रतिशत मध्यम र ०.५ प्रतिशत गम्भीर रक्तअल्पता देखिएको छ।

गण्डकी प्रदेशमा पनि अन्य प्रदेशमा जस्तै एनिमिकको सङ्ख्या बढी छ। गण्डकीमा ६८९ महिलाहरुमा गरिएको अध्ययनमा २५.१ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १५.८ प्रतिशत हल्का, ८.९ प्रतिशत मध्यम र ०.४ प्रतिशत गम्भीर रक्तअल्पता भएका महिलाहरु छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३१८ महिलाहरुमा उक्त अध्ययन गरिएको थियो। रिपोर्टअनुसार ४४.४ प्रतिशत महिलाहरुमा रक्तअल्पताको समस्या छ। जसमध्ये २३.४ हल्का, १९.५ मध्यम र १.५ प्रतिशत गम्भीर प्रकारको रक्तअल्पता देखिएको छ।

कर्णाली प्रदेशमा अध्ययनमा सामेल २४९ महिला मध्ये २१.२ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १३.३ हल्का, ८ प्रतिशत मध्यम र ०.५ प्रतिशतमा गम्भीर रक्तअल्पता देखिन्छ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा २७.३ प्रतिशत महिलामा रक्तअल्पताको समस्या छ। जसमध्ये १४.६ हल्का, १२.६ मध्यम र ०.२ मा गम्भीर खाले रक्तअल्पता देखिएको छ। उक्त प्रदेशमा ६ सय ३४ जना महिलाहरुलाई उक्त अध्ययनमा सहभागी गराइएको थियो।

तराईका महिलाहरुमा गम्भीर खालको रक्तअल्पता बढी
भूगोलको हिसाबले हिमाली र पहाडी भेगका महिलाको तुलनामा तराईका महिलाहरुमा रक्तअल्पताको जोखिम उच्च रहेको अध्यायनले देखाउछ। तराई क्षेत्रका ३ हजार ९९९ महिलाहरुमा गरिएको सर्वेक्षण अनुसार ४५.३ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २३.३ हल्का, २०.६ मध्यम र १.५ प्रतिशतमा गम्भीर रक्तअल्पताको समस्या रहेको देखिएको छ।

त्यस्तै पहाडी भेगमा २ हजार ९५० महिलाहरु मध्ये २० प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १२.७ हल्का, ७ प्रतिशत मध्यम र ०.४ प्रतिशतमा गम्भीर रक्तअल्पता छ।

यसैगरी हिमाली भेगका ३८० महिलाहरु मध्य २३ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १२.६ हल्का, ९.४ मध्यम र ०.९ गम्भीर प्रकारको रक्तअल्पता भएको तथ्यांकले देखाउछ।

यसका साथै, शहरी भागमा भन्दा ग्रामिण भेगका महिलाहरुलाई रक्तअल्पताको जोखिम बढी भएको अध्ययनले देखाएको छ। ग्रामिण भेगमा २ हजार २९९ महिलाहरुमा अध्ययन गर्दा ३४.२ मा रक्तअल्पताको समस्या छ। जसमध्ये १९.६ मा हल्का, १३.७ मा मध्यम र १ प्रतिशतमा गम्भीर खालका रक्तअल्पता भएको देखिन्छ। शहरी क्षेत्रमा ५ हजार ३० महिलाहरु मध्य ३३.८ रक्तअल्पताको समस्या छ। जसमध्ये १७.९ हल्का, १४.९ मध्यम र १ प्रतिशत गम्भीर खालका रक्तअल्पता भएको छ।

अशिक्षित महिलाहरु पनि जोखिममा
रक्तअल्पताको जोखिममा अशिक्षित महिलाहरु देखिएका छन्। रिपोर्ट अनुसार १ हजार ८१९ अशिक्षित महिलाहरु मध्ये ३८.३ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १८.१ हल्का, १९.३ मध्यम र ०.९ गम्भीर प्रकारको जोखिममा छन्।

यस्तै, एक देखि ८ कक्षा सम्म पढेका २ हजार ३१२ महिलाहरु मध्य ३३.५ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १७.८ हल्का, १४.७ मध्यम र १.१ गम्भीर किसिमका रक्तअल्पताको समस्या छ। त्यस्तै ९ देखि १२ कक्षा सम्म पढेका २ हजार ८२९ महिलाहरु मध्य ३२.८ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १९.५ हल्का, १२.२ मध्यम र १.१ गम्भीर अवस्थामा छन्।

यसैगरी, १२ कक्षाभन्दा माथि पढेका ३६८ महिलाहरु मध्य २४.३ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १६.५ हल्का र ७.८ मा मध्यम किसिमको रक्तअल्पताको समस्या रहेको छ। यो समूहमा भने गम्भीर किसिमका रक्तअल्पता भएकाहरु छैनन्।

मध्यम वर्गीय महिलाहरुमा गम्भीर रक्तअल्पता बढी
रिपोर्ट अनुसार मध्यम वर्गीय महिलाहरुमा गम्भीर किसिमको रक्तअल्पता बढी (१.४ प्रतिशत) भएको देखिन्छ। मध्यम वर्गीय १ हजार ४७५ महिलाहरु मध्य ३७.१ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १९.१ हल्का र १६.६ मध्यम किसिमको रक्तअल्पताको समस्या छ।

उच्च वर्गीय १ हजार ६३० महिलाहरुमा भने २९.७ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १७.७ हल्का, ११ प्रतिशत मध्यम र १ प्रतिशत गम्भीर प्रकृतिको रक्तअल्पता छ।

यस्तै, निम्न मध्यम वर्गीय १ हजार ४८६ महिलाहरु मध्य ४१.२ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये २१.१ मा हल्का, १८.८ मा मध्यम र १.३ मा गम्भीर किसिमको समस्या छ।

कम आय भएका १ हजार ४६४ महिलाहरु मध्य ३५.४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये १९.१ हल्का, १५.८ मध्यम र ०.५ प्रतिशतमा गम्भीर रक्तअल्पताको समस्या छ।

त्यस्तै, निम्नवर्गीय १ हजार २७३ महिलाहरु मध्य २५.७ प्रतिशतमा रक्तअल्पताको समस्या छ। जसमध्ये१४.८ हल्का, १०.२ मध्यम र ०.७ प्रतिशत गम्भीर किसिमका रक्तअल्पताका समस्या देखिएको छ।

रक्तअल्पता के हो?

चिकित्सकहरुका अनुसार रक्तअल्पता भनेको शरीरमा रहेको रगतमा हेमोग्लोबिनको मात्रा कमी हुनु हो। हेमोग्लोबिन राता रक्तकोषमा रहेको सबैभन्दा महत्वपूर्ण रक्ततत्व हो। शरीरमा भएको रगतमा राता रक्तकोष सामान्यभन्दा पनि थोरै भएमा रक्तअल्पता हुन्छ। शरीरमा हेमोग्लोबिनको मात्रा ११ भन्दा कम भएमा रक्तअल्पता मानिन्छ। त्यस्तै, हेमोग्लोबिनको मात्र १० देखि १०.९ भएमा हल्का, ७.० देखि ९.९ भएमा मध्यम र ७.० भन्दा कम भएमा गम्भीर मानिन्छ। त्यस्तै १५ देखि ४९ वर्षका महिलाहरुमा हेमोग्लोबिनको मात्रा १२ भन्दा कम भएमा रक्तअल्पता मानिन्छ। त्यस्तै गर्भवतीहरुमा भने ११ भन्दा कम भएमा रक्तअल्पता भएको बुझिन्छ।

शरीरमा हेमोग्लोबिनको मात्रा कमी हुनु भनेको खतरा निम्तिनु हो। शरीरमा हेमोग्लोबिनको मात्रा ५ भन्दा कम अवस्थामा रहेका महिला समेत भेटिने गर्छन्। उनीहरु एक्कासी गम्भीर अवस्थामा पुगेपछि उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइन्छन्। हेमोग्लोविनको मात्रा शरीरमा ५ भन्दा कम हुनु भनेको निकै जोखिमपूर्ण अवस्था हो। यो अवस्थाका आइसियुमा राखेर नै उपचार गर्नुपर्ने हुन्छ। यस्तै ५ देखी ७ ग्राम सम्मको अवस्थामा रगत चढाएर उपचार गर्नुपर्ने हुन्छ। ७ देखी १० सम्म रहेकालाई आवश्यकता अनुसार पोषण सप्लिमेन्ट दिएर हेमोग्लोबिनको मात्रा बढाउने काम गरिन्छ।

रक्तअल्पत्ताको डिग्री अनुसार यसका लक्षणहरु देखापर्छन्। थकाई महसुस हुने, कमजोरी हुने, खान मन नलाग्ने, अपच हुने, मुटुको ढुकढुकी बढ्ने, चक्कर आउने तथा खुट्टा सुन्निने हुन्छ। धेरैजसोमा मुखमा घाउ हुने, फुस्रो देखिने, फोक्सोमा घ्याघयार सुनिने समेत हुन्छ। यसका लागि रगतमा हेमोग्लोबिन, राता रक्तकोषको मात्र जाँच गर्नुपर्छ। पिसाबमा प्रोटिन, सुगर जाँच्नु पर्छ। दिसामा परजिबी समेत जाँच गर्नुपर्छ।

रक्तअल्पत्ताबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको नै सन्तुलित आहार हो। त्यसपछि अनावश्यक रुपमा हुने रक्तश्रावको कारण पत्ता लगाएर गरिने उपचार हो। खानेकुराहरुमा आइरन बढी पाइने पालुङगो, चम्सुर, मेथीको सागजस्ता हरिया सागपात खाने गर्नुपर्छ। यसका साथै प्रोटिन तथा अन्य पोषक तत्वका लागि मासु, गेडागुडी तथा अन्य अन्नहरु खानु पर्ने हुन्छ। रोग लागि हालेमा चिकित्सकको सल्लाह अनुसार औषधि तथा अन्य उपचार गर्न सकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१