नेफ्टा अवार्डको ११ औं संस्करण अमेरिकामा हुने

suman100@gmail.com' suman basnet
१९ मंसिर २०७९, सोमबार १२:१७

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) मा अवार्ड हुन् लागेको जनाएको छ। यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौं पटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो। संघका अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अमेरिकामा अवार्ड गर्न लागिएको बताए।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्म्स र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्दैछ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रुपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा फिल्मकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ।

कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन। तर महामारी सकिएपछि फिल्म क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो।

यस पटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन्। ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१