युक्रेनलाई थप हतियार उपलब्ध गराउने नेटोको वाचा

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार १४:११

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने जनाएको छ।

बुकरेस्टमा भएको एक सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले “जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको” आरोप लगाए।

रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी चिसोबीच विद्युत् र खानेपानीबाट वञ्चित भएका छन्। युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ। जिनिभा महासम्धी अनुसार नागरिकमाथि वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध हो।

रुसी आक्रमणको लहरबिच विद्युत् कटौती, युक्रेनभरि अन्धकार
के आत्मसमर्पण गरिसकेपछि रुसी सैनिकहरूको हत्या गरिएको हो?
यसै साताको सुरुवातमा युक्रेनका अभियुक्तविरुद्ध कानुनी प्रक्रियाको नेतृत्व गर्ने एक जना सरकारी अधिकारीले बीबीसीसँग रुसी आक्रमणहरूलाई नरसंहारको संज्ञा दिएका थिए।

बर्लिनमा आयोजित एक समारोहमा विश्वका धनी राष्ट्रहरूको जी सेभेन समूहका न्याय मन्त्रीहरूले युक्रेनमा भएको कथित युद्ध अपराधको अनुसन्धानमा समन्वय गर्ने बताएका छन्।

“युक्रेनमा भएका अत्याचारहरूको न्यायिक जाँच हुन वर्षौँ लाग्न सक्छ वा दशकौँ लाग्न पनि सक्छ। तर हामी राम्रो तयारी गर्नेछौँ र जति समय लागे पनि त्यसलाई निरन्तरता दिनेछौँ,” जर्मन न्यायमन्त्री मार्को बुशम्यानले भने।

यसै वर्षको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिरले र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले भने रुसी सेनामाथि युद्ध अपराधको आरोपको खण्डन गर्दै आएका छन्।

क्रुज क्षेप्यास्त्र निस्फल पार्ने युक्रेनी पाइलटहरू
३ नोभेम्बर २०२२
मङ्गलवारको फरक घटनाक्रममा युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले यूकेको संसद्मा सांसदहरूसँग युक्रेनीहरू दोस्रो विश्वयुद्धमा यूकेले भोगेजस्तै आतङ्कबाट गुज्रिरहेको बताइन्। “हामीलाई जित मात्र चाहिएको होइन। हामीलाई न्याय चाहिन्छ,” जेलेन्स्काले भनिन्। उनले आफू “न्यायका निम्ति त्यहाँ पुगेको र न्यायले युद्धको अन्त्य गर्ने” विश्वास व्यक्त गरिन्।

रोमानियाको राजधानीमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकको सुरुवातमा नेटो प्रमुख स्टोलटेनबेर्गले भने: “वास्तवमा युद्धको मैदानमा रुस असफल भएको छ। त्यसको प्रतिक्रिया स्वरूप उनीहरूले अब नागरिक र शहरहरू लक्षित आक्रमण गरिरहेका छन्। किनकि उनीहरू अब युक्रेनी भूभाग जित्न सक्षम छैनन्।”

यूकेका विदेश सचिव जेम्स क्लिभर्लीले पनि रुसले “युक्रेनीहरूलाई अधीनमा राख्ने” लक्ष्य राखेको विचार राखे।

मङ्गलवार नै नेटोले एक विज्ञप्ति जारी गर्दै युक्रेनी नागरिक र ऊर्जा प्रणालीहरूमा रुसको लगातार आक्रमणका कारण “लाखौँ मानिस आधारभूत आवश्यकताहरूबाट वञ्चित गरिरहेको” जनायो।

नेटो सदस्यहरूले युक्रेनलाई यसको ऊर्जा पूर्वाधार मर्मत गर्न र क्षेप्यास्त्र आक्रमणबाट मानिसहरूलाई बचाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। र, युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबासँगको संयुक्त पत्रकार सम्मेलनमा स्टोलटेनबेर्गले भने: “हामी सधैँ युक्रेनको पक्षमा उभिनेछौँ, हामी पछि हट्ने छैनौँ।“

“हामीले राष्ट्रपति पुटिन युक्रेनमा विजयी नहुनु अत्यन्त महत्त्वपूर्ण छ भन्ने कुरा महसुस गरेका छौँ। त्यसो हुनु युक्रेनको लागि त्रासदीपूर्ण हुनेछ। र, विश्वलाई झन् कमजोर बनाउनेछ।”

कुलेबाले नेटोका वरिष्ठ अधिकारीहरूसँगको भेटमा हतियार उपलब्ध गराउनेबारे कुरा भएको जानकारी दिए। र, हाल आफूले प्रतिबद्ध सहायता छिटो प्रदान होस् भन्ने चाहेको बताए।

इस्टोनियाका विदेशमन्त्री उर्मास रेन्सालुले बीबीसी वर्ल्ड सर्भिसको न्यूज आवर कार्यक्रममा नेटोले युक्रेनलाई रुसी भूभागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू दिन आवश्यक रहेको बताए।

खेअरसन छाड्ने रुसी सेनाको घोषणा, ‘बाध्य तुल्याएको’ युक्रेनको दाबी
युक्रेन सीमा नजिकै पोल्यान्डमा क्षेप्यास्त्र हमला, दुई जनाको मृत्यु
अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र र त्यस्ता अन्य हतियारहरू आपूर्ति गर्न बारम्बार टार्दै आएको छ। यसले पारमाणविक हतियार भएको रुससँग ठूलो तनाव निम्त्याउन सक्छ भन्ने उसको चिन्ताको विषय हो।

युक्रेनमा रुसले क्षेप्यास्त्र आक्रमणको नयाँ लहरको तयारी गरिरहेको चेतावनी दिनुका बावजुद देशभरका ऊर्जा प्रणाली मर्मत सम्भारको काम भइरहेको छ। ती प्रणालीमा आक्रमणको प्रभावका कारण लाखौँ मानिसहरूलाई बिजुली र खानेपानी आपूर्तिबाट वञ्चित छन्।

देशको ऊर्जा सञ्चालन सम्बन्धी निकाय युक्रेनेर्गोले मङ्गलवार देशको ३० प्रतिशत विद्युत् आवश्यकता अझै पूरा हुन सकेको छैन र यो क्रम केही समय जारी रहन्छ।

युक्रेनमा धेरै क्षेत्रहरूमा हिउँ र शून्य तापक्रमसहित हिउँद लाग्दै छ। र, त्यहाँ हाइपोथर्मियाका कारण देशभरका मानिसहरू मर्ने डर व्यक्त गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१