काठमाडौं, कार्तिक २ । भारतका पाँच वर्षिय आरोही हर्षित सौमित्रले लुक्लादेखि कालापत्थर चुचुरो र सगरमाथा आधार शिबिरको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेका छन् ।
काठमाडौँ,३ कार्तिक । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी पाँच वर्षिय सौमित्रले गत असोज ३१ गतेका दिन कालापत्थरमा भारतको झण्डा फहराएर सबैभन्दा कम उमेरको आरोहीको रुपमा कीर्तिमान कायम गरेको जानकारी दिइयो । कार्यक्रममा नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले कान्छो आरोही हर्षितलाई सम्मान गरे ।
दुई वर्षअघि भारतकै एक जल सैनिक अधिकृतका सात वर्षिय छोरा आर्यन बालाजीले सगरमाथा आधार शिबिर र कालापत्थरको सफल आरोहण गरी सबैभन्दा कान्छो आरोहीको रुपमा विश्व कीर्तिमान कायम गरेका थिए ।
हर्षितका बुबा एवं आरोहण गुरु राजीव सौमित्रका अनुसार हर्षितले साढे २ वर्षको उमेरदेखि नै आरोहणसम्बन्धी तालिम लिन शुरु गरेका हुन् ।
कार्यक्रममा कमजोर वर्गका बालबालिकाहरुको खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न उद्देश्यले खोलिएको हर्षित फाउन्डेसनको उद्घाटन पनि गरियो । उक्त फाउन्डेसनको सुरुवात आरोहणका सहयोगी टेण्डी शेर्पाका बुबा काजी शेर्पाको आँखाको शल्यक्रियाबाट गर्ने जानकारी पनि दिइयो ।
प्रतिक्रिया