नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज कुन-कुन नाटक मञ्चन हुँदैछन् ?

suman100@gmail.com' suman basnet
११ मंसिर २०७९, आईतवार १२:३३

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव-२०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रुसका गरी तीन नाटक मञ्चन हुँदैछन् ।

भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ । अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटी बेक र बेन्जामिन रेक्सरोडले लेखेका हुन् । यो प्रयोगात्मक र एकल नाटक हो ।

यो नाटकले सन् १९९० देखि २००० सम्म आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपछि शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्य घटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।

त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान-गिज’ मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेखेको नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन् ।

सामाजिक विषयवस्तुको यस नाटकले एउटी युवतीको कथा भन्छ । मातापिताको अनुपस्थितिमा घरकी जेठी सदस्यको रुपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंगलाई नाटकमा समावेश गरिएको छ ।

आइतबारै साँझ साढे ७ बजे नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटक बाहेक बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०