धानको मूल्यः मोटा प्रति क्विन्टल २९६७ र मध्यम ३१२८ रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७९, शुक्रबार ०५:१८

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९-८० का लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ । कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य कायम गरेको हो ।

मोटा धान प्रति क्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धान प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८-७९ मा मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।

कृषि तथा पशुपन्छी मन्त्रालयको अनुसार गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्विन्टल २ सय १५ रुपैयाँ बढेको छ । यसैगरी, मध्यम धानमा प्रति क्विन्टल २ सय २६ रुपैयाँ बढेको हो । मन्त्रालयले गत साउनमा धानको समर्थन मूल्यका लागि प्रस्ताव गरेको थियो ।

सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ भने न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छुट्टै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ । हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई १ सय १२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ ।

गत वर्ष यस कार्यक्रमअनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरेको मन्त्रालयले जनाएको छ । विगतका वर्षको भन्दा यसपालि मंसिरे धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको सम्बन्धित सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१