जाडोमा कसरी बनाउने सुन्दर अनुहार ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७९, शनिबार ०५:२९

काठमाडौँ। अनुहार मानिसको परिचय र पहिचानको प्रमुख भाग हो। अपवादबाहेक अनुहार बस्त्रले नढाकिने भाग पनि हो। त्यसैले हरेक मानिस आफ्नो अनुहार सुन्दर बनाउन चाहन्छ। संसारको कुनै क्षेत्रमा गोरो बनाएर सुन्दरता खोजिन्छ त कतिपय भागका मानिस आफू कालो बन्न पाए हुन्थ्यो भने चाहना राख्छन्। नेपालमा अनुहार गोरो तथा सफा राख्ने र चाउरीपन हुन नदिएर आफ्नो सुन्दरतामा निख्खर ल्याउने प्रयास गर्ने गरेका छन्। आफ्नो व्यत्तित्वलाई आकर्षक बनाउन पनि सुन्दरतामा ध्यान दिने गरिन्छ। शारीरिक बनावट तथा तौललगायतका पक्षमा सुन्दरताका लागि ध्यान दिन आवश्यक भए पनि अनुहारको सुन्दरता मानिसका लागि प्रमुख रहेको छ। जाडोमा कसरी अनुहार सुन्दर राख्‍ने? शंखमुलस्थित साथी व्युटी पार्लरको संचालिका ब्युटिसियन कल्पना शाक्य अनुहार सुन्दर राख्‍न यस्तो सल्लाह दिन्छिन्:

छालाको स्यहार

जाडो सिजनमा धेरै चिसोले हाम्रो अनुहारको छालालाई सुक्खा बनाइदिने गर्छ। साबुनले मुख धुने बानी धेरैको हुन्छ। तर जाडो मौसममा साबुनले मुख धुने गर्नु हुदैन। यस सिजनमा अनुहार सुक्खा हुन्छ, त्यही माथि साबुनले मुख धुने गर्नाले अनुहारको छाला झनै सुक्खा भई छाला फुट्ने र रगत आउनेसमेत गर्दछ। त्यसैले सफा पानी वा हर्वलयुक्त फेसवासहरुले मुख धुने गर्नुपर्छ।जाडोमा छाला नरम राख्‍नुपर्छ। धेरै सुख्खा हुन दिन हुँदैन। एसी, हिटरको प्रयोग वा आगो ताप्‍नाले छाला झनै सुख्खा र फुस्रो बनाउँछ। यस्तो बेलामा छालालाई नरम र चिल्लो राख्‍न ध्यान दिनुपर्छ। त्यसका लागि गुलाबजल, ग्लिसिरिन प्रयोग गर्न सकिन्छ। धेरै सुख्खा छालाको लागि सनब्लकसँगै लोसन प्रयोग गर्नु अनुहारको लागि धेरै लाभदायक हुन्छ। जसले अनुहारको छालालाई नरम राख्न सहयोग गर्दछ।

जाडोमा पानी कम पिउनाले पनि छाला सुख्खा बनाउने गर्छ। त्यसैले पानीको पिउन ध्यान दिन आवश्यक छ। अनुहारमा धेरै तातोपानीको प्रयोगले पनि अनुहारको छाला सुख्खा बनाउँछ।

बेलुका सुत्ने बेलामा दुई चम्चा कागतीको रस र एक चम्चा मह मिसाएर अनुहारमा लगाउने गर्नाले अनुहार छाला सुक्खा हुनबाट जोगाउँछ। यसले अनुहारमा चमक ल्याउँछ।

ओठ फुटन नदिने

हाम्रो शरीरमा हुने छालाहरुमध्ये ओठको छाला अत्यन्तै संवेदनशील हुन्छ। जुन अत्यन्तै कमलो हुन्छ। त्यसैले चिसोको कारण ओठ सुक्खा हुने, फुट्ने र कहिलेकाही रगतसमेत आउने गर्दछ। त्यसैले ओठलाई जोगाइ राख्न चिल्लोको मात्रा धेरै भएको लिपिष्टिकहरु लगाउनु पर्छ। कतिपयले ओठ सुक्खा भयो भन्दै जिब्रोले थुक लगाउने बानी हुन्छ, यस्तो गर्नु हुँदैन। जसले ओठलाई झनै सुक्खा गराउने गर्दछ। यस्तै ओठ फुटेको छ भने हरेक दिन बेलुका सुत्नु अगाडी काँक्रोको जुस १५ मिनेट ओठमा लगाएर धुने गर्नाले पनि ओठ नरम हुने गर्दछ। ओठलाई नरम बनाइ राख्न जैतुनको तेल, एलोबेराको रस, ग्लिसिरिन पनि लगाउन सकिन्छ। जसले ‌ओठलाई नरम राखी राख्न सहयोग गर्दछ।

चायापोतो र चाउरिपना

चिसो मौसममा धेरै मात्रामा हाम्रो अनुहारको छाला फुस्रो हुने तथा यसले चाउरीपना देखिन सक्छ। साथै अनुहारमा चायापोतो समेत देखिने गर्दछ। अझ कसै कसैमा त चिसोले गर्दा रातो रातो धम्बाहरु देखिने र चिलाउने समेत हुन्छ।

अनुहार फुट्ने, चाउरिपना देखिने हुनाले अनुहारको सुरक्षाको लागि प्रसस्त पानी सेवन गर्नुपर्छ। यस सिजनमा चिसो हुन्छ भन्दै धेरैले कम पानी पिउने बानी हुन्छ। तर अनुहारको छाला स्वस्थ र चम्किलो राख्‍न प्रसस्त रुपमा पानी पिउने गर्नुपर्छ। साथै सिजनअनुसारका फलफूल तथा जुस पिउनु पर्छ।

जाडोमा धेरैले तातो पानीले मुख धुने गर्छन्। तातो पानीले मुख धुनाले अनुहारमा चाउरिपना बढाउँछ। त्यस्तै धेरै चिसो पानीले पनि अनुहारलाई सुख्खा बनाइ चाउरी पार्न सहयोग गर्छ। सके सामान्य अवस्थाको नत्र एकदमै कम तातो अर्थात मनतातो पानीले मुख धुनु पर्छ।

यस्तै हरेक दिन तीन चम्चा दुध र एक जम्चा जैतुनको तेललाई मिसाएर अनुहारमा लगाउनाले चाउरिपना कम हुन सक्छ। मेवाको गुदी नियमित रुपमा रुपमा १० मिनेट जति अनुहारमा लगाएर पखाल्ने गर्दा पनि अनुहारमा देखिने चाउरिपना हराउनुका साथै अनुहार चम्किलो बन्नेछ।

यसबाहेक अनुहारको छाला नरम राख्न मोइस्चराइजर तथा अन्य क्रिमहरुको प्रयोग गर्न सकिन्छ। तर कस्तो छाला र अवस्थामा कस्तो क्रिम लगाउने भन्नेमा ध्यान दिन जरुरी हुन्छ।

 

 

कपाल

जाडो मौसममा स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको स्याम्पुको प्रयोग गर्नु पर्छ। त्यस्तै कपाललाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ। जाडोमा सातामा २ पटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु अत्यन्तै राम्रो मानिन्छ।

जैतुन, बदाम र तिलको तेल मिसाएर तताई त्यसमा २ वटा भिटामिन इ क्याप्सुल मिसाई मसाज गरेमा केसमा चमक आउँछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१