भाइ टिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७९, बुधबार ०४:२५

तिहारको रौनक उत्कर्षमा छ । इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै न अोइलाउने सुपारी फुलका मालाहरु, अमिलो रसिलो भोगटे तथा बिमिरो लगायतका फलहरु, झिलीमिलि बत्तिहरु अनि झिल्केमिल्के कागज, कपडा तथा प्लाष्टिकबाट बनेका तोरणका सजावटहरु ।

भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमारहेको छ । यस शुभ साइतमा दाजू-भाइहरू पश्चिम मुखासन भर्इ बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भर्इ दाजू-भाइहरूलार्इ टिका लगार्इ शुभाशिष दिर्इ शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।

काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरियो अाजको पालो दाजुभाईको पूजा गर्ने । स्वागत छ दाजू-बहिनी, दिदि-भाइहरूको अात्मिय चाड ‘भातृद्वितिया’ अर्थात् ‘भाईटिका’मा । निधार रङ्गाउने हातहरु छन् या रङ्गाएका यादहरु मात्र छन् या अलि फरक मेसो छ यस वर्ष ? जे छ, जहाँ हुनुहुन्छ अनि जे गर्दै हुनुहुन्छ भाईटिकाको यस पावन दिनको कृपाले सबै दिदी-बहिनी दाजू-भाइको कल्याण होस् ।

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज “भाइटिका” । विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टिका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ?

सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।

भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।

दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँर्इमा चकटि अोछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।

शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टि लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

अाजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ-आफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको अाज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । दशैंलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा तिहारको झटपट विदार्इले साह्रै नरमाईलो पनि हुन्छ । पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका कामकाजले अाफ्नो गति लिनथाल्दछ । हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१