बफादारीका कारण कुकुर सधैं मानिसको प्रिय बन्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७९, आईतवार ०४:२५

केशवराज पौडेल । बफादार र मानवको सहयोगी बनेको कुकुरलाई हरेक वर्ष यमपञ्चकको दोस्रो दिन पूजा गर्ने परम्परा छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ भने दोश्रो दिन कुकुरको पूजा गरिन्छ । जीवविज्ञ मुकेश चालिसेका अनुसार संसारमै सबैभन्दा पहिला मानिसहरुको पाल्तु जीव नै कुकुर भएको हुनसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, मानिससँगको सामिप्य उपयोगिता र बफादारिताको कारणले मानिसको सदैव प्रिय जनावरको रुपमा कुकुर हेरिएको छ ।

यमपञ्चकको पहिलो दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचिन खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र सहसी जीवको रूपमा परिचित रहेको कुकुरको परपूर्वकालदेखि नै महत्व रहेको चालिसेले बताउनुभयो । मानिसहरुले आवश्यकताको आधारमा गाई, भैसी, घोडा, भेडा, कुखुरा, हात्ति पालेपनि बफादार भएको हिसाब र उसले सुरक्षासँगै सिकारमा समेत ध्यान दिने भएकाले यसलाई अभिन्न साथीको रुपमा पालेको पाइन्छ ।

मानिसको सभ्यताको विकासक्रममा सिकारबाट सुरु भएकाले कुकुरले सुध्न सक्ने, शत्रुहरुको पहिचान गर्न सक्ने र सिकार गर्न सक्ने गुण भएको र मासुमात्रै नभएर मानिसले खाने शाहाकारी भोजन पनि गर्ने भएकाले निरन्तर उ मानिसको साथी बनेको चालिसेले बताउनुभयो । कुकुरले माया गर्ने प्रति निरन्तर बफादार बनेर मालिकको माया गर्ने भएकाले यो अहिलेसम्म निरन्तर रुपमा मानिसको साथी बनेको उहाँले बताउनुभयो ।

कुकुरले धेरै कुरा पत्ता लगाउने भएकाले अपराध अनुशन्धानमा समेत यसको प्रयोग भएको उहाँले स्पष्ट पार्नुभयो । आर्य सस्कृतिमा कुकुरको निक्कै महत्व भएको कुरा स्पष्टसँग लेखिएको उहाँले बताउनुभयो । ज्योतिष परिषद्का केन्द्रीय सदस्य केशव गौतम यमपञ्चकमा कुकुर तिहारको निक्कै महत्व रहेको बताउनुहुन्छ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाउने बताउनुभयो । कुकुर तिहार मनाउने धेरै धार्मिक तथा साँस्कृतिक महत्व रहेको उहाँले स्पष्ट पार्नुभयो ।

‘कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो’ उहाँले भन्नुभयो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।
उहाँका अनुसार ऋगवेदमा स्पष्ट रूपमा ’समरा’को बिषय उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ ।
महाभारतमा यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको, तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुर हुनु र चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएसँगै यसको महत्व निक्कै धेरै छ । ।

मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका छाठा कुकुरहरुलाई पनि माला लगाइ, अबिरको टीका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाईदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरुप्रति समर्पित दिन हो ।

कुकुरलाई अझ विशेष रौनक र चाखका साथ देश विदेशमा पाल्ने गरिन्छ । कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन् अनि अझ विकसित देश, शहरहरुमा कुकुरहरुलाई अत्यन्त शानदार रुपमा घरको अभिन्न सदस्यको झै राख्ने गरिन्छ । अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाका लागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ ।

जघन्य अपराध त्यहा तालिम प्राप्त कुकुर
नेपालमा गम्भिर प्रकृतिका अपराधमा कुकुरको प्रयोग हुने गरेको छ । नेपाल प्रहरीमा अपराध अनुशन्धानमा कुकुरको प्रयोग भएको पाँच दशक पूरा भैसकेको छ । नेपाल प्रहरीको कुकुर तालिम केन्द्रका अनुसार नेपाल प्रहरीले विस २०२६ सालबाटै ‘डग सर्भिस’ सुरुवात गरेको थियो ।
केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक(सइ) कुमार थापाले दिनु भएको जानकारी अनुसार २०२६ सालबाटै नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग गरेको थियो ।

प्रहरीसँग ९६ तालिमप्राप्त कुकुर
अघिल्लो वर्षसम्म प्रहरीसँग ८५ वटा तालिमप्राप्त कुकुर थिए । यो वर्ष नौ वटा थपिएर प्रहरीसँग यतिबेला ९४ वटा कुकुर रहेको कार्कीले बताउनुभयो ।
नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको हो । उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै बनाएको छ । प्रहरील सबै प्रदेशमा क्षेत्रीय कुकुर शाखासमेत स्थापना गरिसकेको छ ।

विश्वमा १८९ प्रजातिका कुकुरमध्ये आठ प्रजातिलाई मात्रै नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएको छ । नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका ९६ वटा कुकुर रहेको डग स्कूलमा कार्यरत सइ कार्कीले बताउनुभयो । प्रहरीले ९६ कुकुरलाई ट्रयाकर डग, एक्सप्लोसिभ डग, सर्च एण्ड रेस्क्यू डग, ड्रक्स सर्च डग गरी चार विधामा भाग लगाएर अनुशन्धानमा प्रयोग गर्ने गरेको छ ।

कुकुरसँग सुध्ने र नयाँ कुरा थाहा पाउने क्षमता हुन्छ । त्यो क्षमताको आधारलाई टेकेर प्रहरीले कुकुरलाई फरक फरक रुपमा छुट्टाएर तालिम दिने गर्दछ । सुरु सुरुमा नेपालमा तालिम नदिएर विदेशमा लगेर समेत तालिम दिएपछि पहिला–पहिला अन्य मुलुकबाट तालिम गराएर ल्याइने गरे पनि हाल नेपालमै तालिम दिन थालिएको हो । तीन महिनाको सुरुवाती तालिम दिएपछि कुकुरको गुणका आधारमा कुकुरहरुलाई तालिम दिने गरिन्छ ।

नेपाल प्रहरीले प्राकृतिक विपत्तिको समयमा हराइरहेका मान्छेहरुको खोजि गर्नको लागि सर्च एण्ड रेस्क्यू डग, आगूऔषध पत्ता लगाउन ड्रग्स सर्च डग, ‘ट्रयाकर डग’लाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ । भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन ‘एक्सप्लोसिभ डग’ प्रयोग गरिने सइ कार्कीले बताउनुभयो ।

यो वर्ष कुकुर तिहारमा विशेष कार्यक्रम नहुने
विगतका वर्षहरुमा कुुकुर तिहारको अवसरमा निक्कै कुकुर तालिम केन्द्रमा कार्यक्रमहरु हुन्थे । तर यो बर्ष कोभिडको कारणले तालिम केन्द्रका कुकुरहरुको पुजा हुने भए पनि विशेष कार्यक्रम भने आयोजना नहुने भएको छ । यो वर्ष कुकुरले पत्ता लगाएको दुइ ठूला घटना

गाेंगबु हत्याकाण्ड
विसं २०७७ साउन २५ गते मानिसको टाउको बिनाको शरिर फेला पर्याे । प्रहरीले धेरै कोणबाट अनुशन्धान गर्याे । प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगलियो । कुकुरले टाउको बिनाको शरिर पाइएभन्दा दुई सय मिटर पर खुट्टा र टाउको कुकुरलेनै पत्ता लगायो । टाउको पत्ता लगाएपछि प्रहरीले त्यसलाई सार्वजनिक गर्याे । त्यही घटनाको आधारमा प्रहरीले हत्यारालाई पत्ता लगायो ।

गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले चितवनबाट पक्राउ परेर ल्याएको थियो । सो घटनामा कल्पना मुडभरी पौडेलले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गरेकी थिइन । त्यो हत्यामा संम्लग्नको पत्ता कुकुरकै कारण लागेको थियो ।

काभ्रेको पाँचखाल हत्याकाण्ड
२०७७ साउन १५ गते हत्या भएको अवस्थामा एक पूरुषको शव फेला परेको थियो । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– १० बेला स्थित एक जना अपरिचित अन्दाजी ५० बर्षिय बृद्धको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

शवको प्रकृति हेर्दा ढुंगा प्राहार गरि टाउको र अनुहार क्षतविक्षत भएको अवस्थामा छ । घटनास्थलमा पेटी, छातासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरेपनि त्यसको कारण पत्ता लगाउन सकेको थिएन ।

कुकुरले गरेको सफल अनुसन्धानको रुपमा सो अनुसन्धानलाइ लिन गरिएको छ । हत्या भएपछि कुकुरले हत्याराहरुको पत्ता लगाएको थियो । कुकुरले गरेको अनुसन्धानको आधारमा मृतक धुलिखेल नगरपालिका –११ आरुबोटेका ५४ वर्षीय कामीसिंह तामाङ रहेको पहिचान खुलेको थियो ।

पाँचखाल नगरपालिका १० स्थित विपी राजमार्गको भित्री सडकमा तामाङको शव फेला परेको थियो । नचिनिने अवस्थामा टाउको अनुहार तथा शरीरका विभिन्न भागमा चोट पटक भएको अवस्थामा उनको शव फेला परेको थियो । घटनापश्चात प्रहरी घटनास्थलमा पुगेको थियो । सो घटना सम्बन्धमा कुकुरसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख समेतको अनुसन्धान टोलीले धुलिखेल नगरपालिका ११ बस्ने २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रुपेन्द्रमान लामालाई हत्यापश्चात लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

लामा काभ्रे र मैनाली ललितपुर ढुंगेसाँघुबाट पक्राउ परेका थिए। उनका अनुसार घटनालगत्तै कुकुरसहितको फरेन्सिक टोली उनीहरूको खोजीमा हिँडेको थियो । मैनालीले आफ्नो पेटीले तामाङको घाँटी बाँधेर केही परसम्म घिसारेका थिए। त्यसपछि दुबै जनाले ढुङ्गाले अनुहार टाउको तथा शरीरको विभिन्न भागमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । सो हत्यामा संम्लग्नहरुको पहिचान कुकुरकै कारणले भएको थियो ।

कुकुर पाल्ने बढे
एक दशकभन्दा लामो समयदेखि कुकुर पाल्दै आएका प्रदीप द्यौगडा कुकुर पाल्नेहरुको संख्यामा बृद्धि भएको बताउँछन् । काठमाडौसहित नेपालका ठूला सहरहरुमा कुकुर पाल्नेहरुको संख्या बढेसँगै उहाँहरुको २०६५ सालबाटै बनेपामा ब्रिडिङ् व्यवसाय गरेर त्यसको बेचबिखन भने काठमाडौंमा गर्ने गरेका छन् ।
उनले सो व्यवसायबाट राम्रो मुनाफा भैरहेको बताउँछन् ।

सहरमा कुकुर पाल्नेको संख्या बढेसँगै कुकुरको केयर गर्ने उनीहरुको आवश्यक भोजन खुवाउने, नियमित रुपमा परीक्षण गराउने गर्दा पेट केयर सेन्टरले पनि राम्रो मुनाफा कमाउन थालेका छन् । काभ्रेको बनेपामा एक दशकभन्दा लामो समयदेखि यो पेसामा आबद्ध सुमन चौ प्रधान व्यवसाय राम्रो भएको बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१