नागरिकताका बिषयमा राष्ट्रपतिय संस्थासँग नभई आफुसँग डिवेट गर्न ओलीको चुनौती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७९, बिहीबार ०६:००

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति नगर्न सत्ता गठबन्धनलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सम्मेलन समापन कार्यक्रममा ओलीले राष्ट्रपतिजस्तो गरिमामयसंस्थामाथि टिकाटिप्पणी गर्दै गठबन्धनले नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन् ।

उनले एनआरएनएको कार्यक्रममा गृहमन्त्रीले अमार्यादित टिप्पणी र अनर्गल अभिव्यक्ति दिनु निकै गम्भीर बिषय भएको बताए । ओलीले राष्ट्रपतिय संस्थाले प्रतिवाद नगर्ने भएकाले प्रतिवाद नगर्ने संस्थाको सम्बन्धमा नभई आफुसँग नागरिकताका बिषयमा डिवेट गर्न चुनौती दिए । मंगलबार एनआरएनकै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भएकाले त्यसको विरोध गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका थिए ।

ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताएका छन् । “गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब हुन नहुने थियो”, उनले भने, “यो विषयलाई निर्वाचनपछि समाधान गर्छौं, गैरआवासीय नेपालीलाई तुरुन्त नागरिकता उपलब्ध गराइनेछ ।”

उनले आफूले सरकारको नेतृत्व गरेको समयमा गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन नागरिकता विधेयक अगाडि बढाउन खोजे पनि सत्ता साझेदारका कारण निणायार्थ प्रस्तुत गर्न नसकेको जिकिर गरे । “गैरआवासीय नेपालीका माग स्वभाविक छन्, मैले त्यसलाई समर्थन गर्र्दै आइरहेको छु”, उनले भने ।

गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि लगानी गर्न आह्वान गर्दै उनले लगानीको व्यवधान हटाइने प्रतिबद्धता व्यक्त गरे । “गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज ढङ्गको वातावरण बनाइनेछ, लगानीको प्रक्रियालाई सरलीकृत गरिनेछ”, पूर्वप्रधानमन्त्री ओलीले भने ।

प्रवासी नेपालीलाई जहाँ भए पनि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै उनले नेपाली जहाँ भए पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । उनले भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीमा गैरआवासीय नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

एमालेको नेता डा सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान, प्रवासी नेपालीलाई मताधिकारको प्रयोग, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउने तथा पुस्तौँदेखि बर्मा, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा रहेका नेपालीलाई पनि गैरआवासीय नेपालीले पाउने अधिकार दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि गैरआवासीय नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्र्दै गैरआवासीय नेपालीले उठाएको मुद्दामा आफ्नो पार्टीको समर्थन रहेको बताए ।

सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मातृभूमिलाई समृद्ध बनाउने गैरआवासीय नेपालीले आआफ्नो क्षमता प्रदर्शन गर्दै आइरहेको बताए । उनले सरकार र सबै राजनीतिक दलले विदेशमा रहेका नेपालीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने बताए ।

सङ्घका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीले विदेशमा नेपालको प्रतिनिधित्व गरिरहेको जनाउँदै अध्यादेश ल्याएर भए पनि गैरआवासीय नेपालीलाई तत्काल नागरिकता दिइनुपर्ने बताए । सङ्घका अर्का अध्यक्ष कूल आचार्यले नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीले सच्चा साझेदारीको पहल गरिरहेको बताए ।

दुई दिनसम्म चलेको सो साधारणसभा आज १० बुँदे काठमाडौं घोषणापत्र जारी गर्र्दै सम्पन्न भएको छ । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१