फूलपातीको महत्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७९, शनिबार ०५:०७

ज्यो. मधुसूदन रिजाल,

कदली दडिमी धान्या हरिद्रा मानकं कचु ।
विल्वाशोकौ जयन्ति च विज्ञेया नवपत्रिका ।।

फूलपातीका दिन दशंै घरमा यस प्रकारका नवपत्रिका भित्र्याउने परम्परा छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, वेल, अशोक र जयन्ति वनस्पति पर्दछन् । यी नौ वटा विरुवाका पातलाई महासप्तमीका दिन नवपत्रिका मानेर दशैं घरमा शुभ साईत पारेर ल्याउने चलन छ । यी वनस्पतिले जति धार्मिक महत्व वोकेका छन् त्यति नै मात्रमा वैज्ञानिक महत्व पाएका छन् । नेपालका विभिन्न हावापानीमा पाईने यी वनस्पतीको वातावरणीय र औषधोउपचारमा निक्कै ठूलो महत्व रहेको छ । प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सा पद्धतिमा यी वनस्पतिको ठूलो महत्व रहेको छ ।

केराः केरालाई नचिन्ने व्यक्ति को पो होला र, हिन्दू समाजमा शुभ सकुन वा मांगलिक कार्यमा नभई नहुने वनस्पति हो केरा । कदली वा रम्भाफलको नामले संस्कृतमा प्रख्यात यो फल देवताको प्रिय फलको नामले चिनिन्छ । । पितृ कार्य अर्थात् श्राद्धका लागि पनि यो फल नभई हुँदैन । ठूला–ठूला मांगलिक कार्यमा यज्ञमण्डपमा केराको बोट राख्नै पर्ने मानिन्छ । यसैगरी दशैंको दहीच्युरामा पनि ठाउँ अनुसारका स्थानीय केराको प्रयोगले अझ स्वाद थपिदिन्छ । औषधिका रुपमा कोराको महत्व ठूलो छ । काँचो वा पाकेको फल, जरा वा काण्डको रस विभिन्न उपचारका लागि प्रयोग गर्न सकिन्छ । अम्लपित्त एवम् मधुमेहको उपचारका लागि काँचो फलको प्रयोग हुन्छ भने रक्तपिक्तमा पाकेको फलको प्रयोग गरिन्छ ।

दाडिमः संस्कृतमा दाडिम भनिने दारिमलाई बोलीचालीको भाषमा अनार भनेर पनि भनिन्छ । हाम्रो समाजमा धर्म–संस्कृतिमा अनारलाई भगवती कालीको दाँतको प्रतिक मानिन्छ । अनार स्वादयुक्त हुनुका साथै गुणयुक्त रुचीकर फल पनि हो । बिरामी भएर थला परेका ब्यक्तिलाई अनारको रस ख्वाउँदा शरीरमा तागत दिन्छ । साथै शरीरका विभिन्न आन्तरिक एवम् वाह्य रोगका लागि यसका अन्य पात,बोक्रा र दानाको प्रयोग ल्याइन्छ ।

धानः संस्कृत शब्दमा धान्य भनेर चिनिन्छ भने यसलाई नेपाली शब्दमा धान भनेर हामी चिन्दछौ । हाम्रो देश कृषिप्रधान देश भएको हुनाले हाम्रो मूख्य बाली नै धान हो । धानलाई लक्ष्मीको प्रतिक मानिन्छ । त्यसैले शुभकार्यमा धान अनिवार्य रुपमा प्रयोगमा ल्याइन्छ । सम्पूर्ण जगत्को पालनपोषण धानले गरेको हुँदा धानलाई प्राणेश्वरी भनेर पनि भनिन्छ । यसरी हामीलाई प्राणदान दिने धानको पूजा फूलपातीका दिन हुनु अनिवार्य छ । खाद्यवस्तुका रुपमा मात्र नभई देवकार्य, पितृकार्य एवम् यज्ञकार्यमा धान–चामल नभईकन हँुदैन । विजया दशमीको दिनमा हामी टीकाको रुपमा यही चामलको प्रयोग गर्दछौं ।

बेसारः हाम्रो दैनिक प्रयोगमा बेसारको स्थान स्वादका साथै शुभकार्यमा शुभ संकेतको रुपमा बढी प्रयोगमा ल्याइन्छ । संस्कृत शब्दमा हरिद्रा भनेर चिनिने बेसार दैनिक उपभोग्ग वस्तुमा पर्दछ । खाद्यान्यलाई रंगाउन बेसारको ठूलो महत्व रहेको छ । हाम्रो समाजमा रुँघाखोकी लाग्दा अझ पनि पानी तताएर बेसार हालेर खाने चलन छ । छाला रोगमा बेसारको लेपन फलदायी हुन्छ ।

मानकः यसलाई कन्दमूलको वर्गमा लिइन्छ । यस्ताप्रकारका कन्दमूल हाम्रा पर्वहरुमा चाहिरहने चिज हो । विषेश गरेर एकादशी व्रत लगायत अन्य व्रतहरुमा कर्कलो र पिँडालुको फलहार खाने गरिन्छ । हाम्रो देशको हिमाली खण्डमा यस प्रकारको कन्दमूल मुख्य खाद्यान्नको रुपमा लिइन्छ । रक्तसोधन तथा शरीरका अन्य रोगको उपचारमा यसको प्रयोग गरिन्छ । यसको डाँठ तरकारीको रुपमा लिइने गरिन्छ ।

हलेदोः संस्कृत भाषमा यसलाई कर्चुर भनिन्छ । यसको बोट अदुवा बेसारको जस्तो आरमा हुन्छ । यो वनस्पती निकै सुगन्धित बासनदार हुन्छ । बासनको प्रयोगको लागि यसलाई पूजा कोठामा राख्न शुभ मानिन्छ । हलेदोलाई पिसेर लेदो बनाई स–सान केटा–केटीलाई अझै पनि गाउँघरतिर मालिस गर्ने चलन छ । चन्दनको रुपमा पनि यसलाई प्रयोगमा ल्याइन्छ ।

अशोकः यसको बिरुवा तराईदेखि पहाडसम्मको ठाउँमा पाईन्छ । सदाबहार हरियो रहने यस वृक्षबाट सबै परिचित छन् । रातो फूल्ने र सुगन्धित हुने यो अशोकको बिरुवा प्रायः सबैले यसलाई आफ्नो घर वरिपरी लगाएका हुन्छन् भने सडकको किनारामा अत्यन्तै राम्रो देखिन्छ । यस वृक्षको फलफूल र बोक्रा सबै अङ्ग औषधिको रुपमा प्रयोग गरिन्छ ।

जयन्तिः सामान्यतया यो लहरायुक्त वनस्पति हो र विषेश गरेर वर्षायामा पाईन्छ । मसिना पात र स–साना रातो फूल फूल्ने गर्दछ । हेर्दाखेरि अत्यन्तै राम्रो र मनोहर हुनाले पूजा कोठामा सजाउँदा राम्रो देखिन्छ । जयन्तीको प्रयोगले गलगाँड र श्वास प्रश्वास सम्बन्धीको रोगमा यसको प्रयोगले फाइदा पुग्छ ।

बेलः भगवान शिवजीको प्रिय फलका रुपमा बेललाई लिइन्छ । शिव पूजनमा बेलको प्रयोग अनिवार्य रुपमा लिइन्छ । शुभ कार्यमा बेलको पत्र प्रयोग गरिन्छ । नेवारी समुदायमा बेलको साथमा विवाह पनि गर्ने चलन रहेको छ । बेलको वृक्षले वातावरणलाई स्वच्छ बनाउनाका साथै यसका पंचाङ्गले औषधिका रुपमा पनि राम्रो काम दिन्छ ।

यी यस्ता अपार गुणवोकेका वनस्पति हुनाले विजया दशमीमा भगवतीमातालाई अपर्ण गर्न योग्ग वनस्पति हुन । यस प्रकारको धार्मिक तथा वैज्ञानिक महत्व बोकेका यी वनस्पतिलाई संरक्षण तथा पूजा गर्नु हामी सबैको कर्तब्य हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१