चुनावमा पूर्वप्रहरीको परीक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७९, शुक्रबार ०४:३२

काठमाडौं। यसपटकको चुनावमा उल्लेख्य संख्यामा पूर्वप्रहरीहरु चुनावी मैदानमा देखिने भएका छन् । उनीहरु चुनावमा प्रतिष्पर्धाका लागि तयारीमा लागिसकेका छन् ।

सशस्त्र प्रहरीका पूर्वएआइजी डा. कृष्णकुमार तामाङले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । उक्त क्षेत्रबाट काँग्रेस महामन्त्री गगन थापा र एमालेका प्रभावशाली नेता राजन भट्टराई उम्मेदवार बन्ने निश्चितप्रायः छ ।

पूर्वआइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गरेर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन् । उनी तनहुँ या चितवनबाट उम्मेदवार बन्ने चर्चा छ ।
पूर्वआइजीपी ध्रुबबहादुर प्रधान राप्रपाका प्रभावशाली नेता हुन् । प्रधान नवलपरासीबाट चुनावी प्रतिष्पर्धामा देखिने बुझिएको छ ।

सशस्त्र प्रहरीका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपा प्रवेश गरेका छन् । उनी पनि चुनावी मैदानमा देखिने बुझिएको छ ।

पूर्वडिआइजी रमेश खरेल नेपाल सुशासन पार्टीको नेतृत्व गरिरहेका छन् । उनी काठमाडौं १ बाट चुनावी मैदानमा देखिने घोषणा भइसकेको छ ।
पूर्वडिआइजी नवराज सिलवाल निवर्तमान सांसद हुन् । उनी ललितपुर क्षेत्र नं १ बाट नेकपा एमालेका उम्मेदवारका रुपमा पुनः खडा हुने निश्चित भइसकेको छ ।

प्रहरीमा लामो सेवा गरेर चर्चामा आएका व्यक्तिहरु राजनीतिमा आउँदा चुनौती भने फरक देखिने गरेको छ । धेरैजसो पूर्वप्रहरी राजनीतिमा अगाडि बढ्न सकेको देखिदैन । प्रहरीमा हुने भूमिका र राजनीतिक बिल्कुल फरक पाटो भएकाले पनि उनीहरुलाई सफलता हात पार्न मुश्किल देखिने गरेको छ ।

सिलवालले गत चुनावमा एमालेको तर्फबाट बाजी मार्दा माओवादीको पनि साथ थियो । आइजीपी बन्नबाट रोक्किएका सिलवालले सहानुभूतीको मत पनि पाएका थिए । यसपटक भने उनको पुनः परीक्षा कठिन छ । एमाले फुटेको छ र माओवादी काँग्रेससँग मिलेको छ ।

सर्वेन्द्र खनाल फरक पारिवारिक पृष्ठभूमिबाट आएर कम्युनिस्ट राजनीतिसँग जोडिएका छन् । रमेश खरेल आफै पार्टी गठन गरेर बढ्दा सांगठनिक सञ्जाल कमजोर हुनुको चुनौती छ । कृष्णकुमार तामाङ स्वतन्त्र उम्मेदवार हुन् । उनको क्षेत्रबाट अरु स्वतन्त्र उम्मेदवार पनि खडा भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०