हत्या गरेर फरार यादव २१ वर्षपछि पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७९, बिहीबार ०५:२६

काठमाडौं । २१ वर्षअघि हत्या गरी फरार व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको विष्णुपुरा गाविस–७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई २१ साउन २०५८ मा कुटपिट गरी हत्या गरेका थिए । उक्त घटनामा दोषी ठहर भई फरार रहेका साविक जोगडा गाविस–७ हालको गैँडहवा गाउँपालिका५ का ५७ वर्षीय रामपति अहिर यादव पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसलापश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव हाल घटनाको २१ वर्षपछि पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान मुद्दाअन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले विभिन्न मितिमा मुल्तबीमा राखेको थियो । २०७१ सालमा मुल्तवीबाट जगाई २०७३ सालमा फैसला भएको थियो ।

मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलअनुसार जन्मकैद सजाय भएका रामपतिलाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार उनलाई मंगलबार नै कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०