स्कुल जाने बाटो पहिरोले बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७९, मंगलवार ०४:४२

बागलुङ । बागलुङको कुश्मी प्राविका शिक्षिका सीता कँडेलले कक्षा–२ मा पढ्ने बालिका लविशा शाहीलाई बोकेर पहिरो पार गरिन्।

गत भदौ २९ गते स्कुलमा विद्यार्थीलाई कोभिड–१९ विर”द्ध दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो। शिक्षिका कँडेलले बालबालिका बोकेर जोखिमयुक्त पहिरो वारपार गरेकी थिइन्। सोही दिन राष्ट्रिय बालदिवस पर्थ्यो।

बालबालिकालाई खोप लगाएर बाल दिवस मनाएको विद्यालयका प्रध्यानाध्यापक होमनाथ शर्माले बताए।

उनका अनुसार बागलुङ नगरपालिकाको रामतोलामा भदौ २१ गते गएको पहिरोले ओडार, खौर, काभ्रे लगायत गाउँका बालबालिकाको स्कुल जाने बाटो बन्द गरिदिएको छ।

‘पानी परेका बेला हिलो माटो र नपरेका बेला सुख्खा पहिरो झरिराखेको छ,’ शर्माले भने, ‘अझै बालबालिका सहजै स्कुल आउजाउ गर्न सकेका छैनन्।’

स्कुल जाने बाटो बन्द भएपछि बालबालिकालाई अन्य विकल्पका माध्यमबाट अध्यापन गराइएको छ।

पहिरोले पैदलमार्ग बगाएपछि कम्तिमा १४ जना बालबालिका स्कुलको पहुँचबाहिर पुगेका छन्।

प्रध्यानाध्यापक शर्माका अनुसार पहिरोले बाटो बन्द गरिदिएपछि उक्त गाउँका बालबालिकालाई नजिकैको मुना बालविकास केन्द्र पठाइएको छ।

‘पहिरो पारी हाम्रो एक जना मेडम हुनुहुन्छ, उहाँले बालविकास केन्द्रमा विद्यार्थी बोलाएर पढाउनुहुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ यताबाट हामी पनि जान्छौं।’

उक्त विद्यालयमा अहिले ३६ जना विद्यार्थी अध्ययन गर्छन्। उनीहरूलाई पढाउन ३ जना शिक्षक दरबन्दी रहेको शर्माले बताए। अहिले विद्यालय र बालविकास केन्द्र गरी २ ठाउँमा पढाउँदा शिक्षक अभाव भएको छ।

बालविकास केन्द्रका सहजकर्ताले स्कुलका विद्यार्थी अध्यापन गराउन सहयोग गरेको शर्माले बताए। बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलामा गएको पहिरोले अर्को विद्यालय सरस्वती प्रावि पनि प्रभावित भएको छ।

पहिरोले गर्दा उक्त विद्यालय जाने विद्यार्थी १ घण्टा बढी हिडेर जानुपर्ने अवस्था आएको स्थानीयले बताएका छन्। पहिरोले बाटो बन्द भएपछि विद्यार्थीलाई मात्र होइन, स्थानीय किसानलाई पनि समस्या परेको छ। पहिरोका कारण २ वटा गोठ बगाएका छन् भने केही घरहरु जोखिममा छन्।

पहिरोको बाटो छलेर वैकल्पिक बाटो प्रयोग गर्दा स्थानीय किसानलाई गोठमा पुग्न १ घण्टा बढी हिड्नुपरेको छ। पहिरो वारी गाउँ र पारी पहिरो भएकाले धेरै घुम्नु परेको स्थानीय किसान टिकाराम पौडेलले बताए।

पहिरोले कुश्मी फाँटका २ वटा कुलो, धानखेत, कोदो रोपिएको बारी लगायत पुरिदिएको छ। पानी पर्न अझै नरोकिएकाले जोखिम कायमै रहेको शिक्षक शर्माले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१