किबी बिरुवाको उत्पादन तथा नर्सरी ब्यबस्थापन कसरी गर्न सकिन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७९, शनिबार ०५:१६

बिरुवा उत्पादन प्रबिधि (Seedling Production Technology)

किबी फल लहरामा फल्ने फल हो । यस फलको बिरुवा पौष—माघ महिनामा रोपिन्छ । किबी फल नेपालमा ३०—४० बर्ष अघि देखि नै भित्रीसकेको हो । हाल यसको खेतीमा नेपालको पहाडी शितोष्ण हावापानी भएको ठाउँमा निक्कै ब्यापकता बढ्दै गएको छ र यसको बिरुवा र फलको माग पनि बढ्दै गएको छ ।

किबी खेती जनताको पोषणमा सुधार गर्ने, कृषकको आयस्तरमा बृद्दि गर्ने, रोजगारीको सिर्जना गर्न सक्ने र पहाडी कृषकको लागि निकै उपयुक्त मानिन्छ । नेपालमा महब्गो मूल्य पर्ने फलफूल मध्ये यो फल अग्रस्थानमा पर्दछ । किबी फल पर—परागसेचन (Cross-pollinated) स्वभाबको हुन्छ ।

रुटस्टक बिरुवाको तयारी (Rootstock Preparation)

किबी फलको बिरुवा उत्पादन गर्न पहिलो बर्ष रुटस्टक बिरुवा तयारी प्रमुख र कठिन कार्य हो । कलमी गर्ने बिरुवाको जरा तर्फको फेद भागलाई रुटस्टक तथा मूलबृत्त भनिन्छ । रुटस्टक बिरुवा तयार गर्न निम्न कार्य गर्नु पर्दछ :—

किबीको बीउ संकलन (Seed Collection)
राम्ररी पाकेको किबी फलको दानाबाट बीउ निकाल्नु पर्दछ । यदि फल काटेर हेर्दा बियाँ कालो छ भने त्यस फल टिप्नको लागि तयार भएको बुझ्नु पर्दछ । यसरी पाकेको फलबाट बीउ छुट्याउने कार्य गर्नु पर्दछ । फलमा रहेको चिल्लो पदार्थ हटाउनु पर्दछ । उक्त चिल्लो पदार्थ हटाउनको लागि बालुवा मिसाई मुछ्दा सजिलो हुन्छ । बीउ नखस्ने गरी जाली वा कुनै कपडा प्रयोग गरी बीउ छुट्याउन सकिन्छ । बीउ छुट्याइ सकेपछि उक्त बीउलाई उज्यालो तर सिधा घाम नपर्ने ठाउँमा सुकाउनु पर्दछ र पछि बालुवालाई छुट्याउन सकिन्छ । तयार गरिएको बीउलाई सफा कपडामा पोको पारी भण्डारण गर्नुपर्दछ ।

बिरुवा उत्पादनको लागि नर्सरी प्लटको तयारी (Nursery Preparation)
मलिलो माटोमा बीउ राम्ररी उम्रने हुनाले त्यस्तो माटोको प्रयोग गर्नु पर्दछ । माटो र पाकेको गोबर मललाई मसिनो बनाई मिसाई ड्याङमा हाल्नु पर्दछ । किबी फलको बीउ बिशेष गरी फागुन—चैत्र महिनामा जमाइन्छ । नर्सरी तयार गर्दा ड्याङको आकारमा ध्यान दिनु पर्दछ ।
– चौडाइ १ मिटर
– उचाइ १५—२० से. मि.
– लम्बाइ आबश्यकता अनुसार

हिँड्ने ठाउँ साथसाथै पानी नजम्ने गरी ड्याङ राम्ररी बनाउनु पर्दछ ।

बीउको उपचार (Seed treatment)

तयार पारिएको बीउलाई छर्नु अघि वेभिस्टिन (Bavistin), जिबरेलिक एसिड (Gibberellic acid) ले उपचार गरी छरेमा राम्रो हुन्छ । वेभिस्टिनलाई २ ग्राम प्रति लिटर पानीमा मिसाई घोल तयार गर्ने र बीउलाई आधा घण्टा
भिजाएर उपचार गरी प्रयोग गर्दा राम्रो हुन्छ । तयस्तै गरी जिबरेलिक एसिड ५०० पिपिएमको घोलमा बीउलाई २०— २२ घण्टा भिजाई त्यसपछि सिधा घाम नपर्ने ठाउँमा सुकाउन पर्दछ । यसरी बीउ छरेमा बीउको उमारशक्ति राम्रो हुन जान्छ ।

बीउ छर्ने तरिका (Seed Sowing)

जसको बीउ एकदमै साना हुन्छन् त्यस्ता वीउलाई अन्य केही जस्तै बालुवा मिसाई छरेमा सजिलो र समान रुपले पर्ने हुनाले यस किबीको बीउलाई पनि बालुवा सँग मिसाई छर्नु पर्दछ । मसिनो बीउ भएको हुनाले धेरै गहिरोमा उम्रन सक्दैन तसर्थ १ से. मि. जति मल (मसिनो) वा माटोको धुलोले पुर्नुपर्दछ । चिस्यान कायम राख्नको लागि परालको छापो प्रयोग गर्न सकिन्छ ।

नर्सरी ड्याङको हेरचाह (Care and management of Nursery Bed)

नर्सरी गर्ने किसानहरुले ध्यान दिनुपर्ने प्रमुख तत्वहरु उपयुक्त तापक्रम र चिस्यान हो । चिस्यान ठीक राख्नको लागि सिँचाईमा ध्यान दिनु पर्दछ । पानी धेरै वा कम भएमा बीउ मर्दछ । प्लाष्टिक घर भित्रको तापक्रम १८—२० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ । छापोलाई बीउ उम्रन सुरु गरेपछि हटाउनु पर्दछ । किबीको बीउ उम्रन लामो समय लाग्दछ ।

दोस्रो नर्सरीमा बिरुवा कसरी सार्ने (Seedling Transplanting in Second Nursery)

सर्वप्रथम बिरुवा सार्नु अघि ८०—९० से. मि. को चौडाई भएको ब्याड तयार गर्नुपर्दछ र गोबरमल, बालुवा र बुरबुराउदो माटो १ः१ः२ को भागमा मिसाई सतह भन्दा १५ से. मि. को उचाइ हुने गरि सो मिश्रण बिछ्याई ब्याड बनाउनु पर्दछ । बनाइएको ब्याडमा नाइट्रोजन ७ ग्राम, फस्फोरस ५ ग्राम र पोटास ३ ग्राम गरी प्रति बर्गमिटरको दरले माटोमा मिसाउनु पर्दछ । बिरुवाको दूरी २०—२५ से.मि. र लाइनको दूरी ४०—४५ से.मि. हुने गरी बिरुवा रोप्नु पर्दछ । लहरा जाने भएकाले टेका दिनु आबश्यक छ ।

कलमी (Grafting)
बिरुवाको अलग अलग भाग जोडेर पूर्ण बिरुवा तयार गर्ने बिधिलाई कलमी भनिन्छ । यसको लागि रुटस्टक र सायन
स्टिक आबश्यक पर्दछ । यसको लागि सुरुको बर्षमा मूलबृत्त अथवा रुटस्टक बिरुवा तयार गर्नुपर्दछ ।

सायन स्टिक छनौट (Scion Selection)
– सायन ६ देखि डेढ बर्ष सम्मको पेन्सिल साइजको हुनुपर्दछ ।
– रोग कीरा नलागेको, आँखा (bud) प्रष्ट भएको हुनु पर्दछ ।
– भाले र पोथी छुट्टा छुट्टै राखेको र जात एकिन भएको हुनुपर्दछ ।

कलमी गर्ने तरिका (Grafting Procedure)

– किबी फलमा बिशेष गरी Tongue Grafting बढी सफलता पाइएको छ भने त्यस्तै गरी रुटस्टकलाई उखेलेर न्यानो घर (Callus House)मा ग्राफ्टिब गरिने जसलाई बेन्च ग्राफ्टिब (Bench Grafting) भनिन्छ, जुन पनि किबी फलमा सफलता मानिन्छ ।
– जमिनको सतह देखि १०—१५ से. मि. माथि काट्नको लागि तयार गर्नु पर्दछ ।
– १—२ आँखा भएको सायन स्टिक टुक्राउने र दुबै सायन र रुटस्टकलाई छड्के गरी काट्नु पर्दछ ।
– छड्के काटेको ठाउँमा ठाडो काटेर टम्म मिलाएर राम्ररी ग्राफ्टिब टेपले पानी र हावा नछिर्ने गरी बाँध्नु पर्दछ ।
– सायनको घाउमा सुक्न र अन्य संक्रमण हुन नदिन मैन लगाउन सकिन्छ ।

कलमीे गर्ने समय (Grafting Season)
सायन र रुटस्टकको सबै पात झरिसकेपछि कलमी गर्नुपर्दछ । पुष देखि फागुन महिना सम्म कलमी गर्नु पर्दछ ।

किबी फलको बिरुवा सार्ने समय (Seedling Transplanting in Main Field)

ग्राफ्टिब वा कलमी गरेको एक बर्ष पछि बिरुवा मूख्य जग्गामा सार्नको लागि तयार हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०