युवापुस्तामा कपाल रँगाउने बढ्दो फेसन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७९, सोमबार ०६:०२

काठमाडौँ । कपालमा रातो, नीलो, हरियो, पहेँलो रङ लगाउनु फेसनका रूपमा लोकप्रिय हुँदै छ । अहिलेका युवा वर्ग आफ्नो कपाललाई विभिन्न रङ लगाउने गरेको पाइन्छ । बजारमा देखिएका नयाँखालका कपालको रङ (हेयर कलर) लगाउने प्रतिस्पर्धा नै चलेको छ । सहर बजारमा रातो, नीलो, बैजनी, खैरो रङको कपाल पार्ने युवाको जमात भेटिन्छ ।

“विगतलाई हेर्दा अहिले हेयर कलरप्रति मानिसको सोचाइमा परिवर्तन भएको छ,” सौन्दर्यकर्मी ओसिका मुल्मीले भन्नुभयो, “केही समयअघिसम्म हेयर कलर महिलाले नै बढी प्रयोग गर्थे । त्यो बेला विशेष गरेर हर्बल मेहेन्दी मात्र प्रयोगमा आउँथ्यो तर अहिले हेयर कलर फेसन बनेको छ ।”युवायुवतीदेखि वृद्धवृद्धाको समेत यसमा आकर्षण बढेको मुल्मीको अनुभव छ ।

युवापुस्ताका लागि कपाल रङ्गाउने फेसन भएको छ भने कलाकारिता क्षेत्रमा कार्यरत चलचित्रकर्मी र नाट्यकर्मीलाई भने हेयर कलर गर्नु बाध्यता भएको छ । वसन्तपुरमा टिकटक बनाउँदै गर्दा भेटिनुभएका अजित गुरुङले कपाल पूरै हरियो बनाउनुभएको छ ।

उहाँले विश्व वातावरण दिवसलाई लक्षित गरी कपाल रङ्गाएको बताउनुभयो । हरियो रङ प्रकृतिको रङ भएको हुनाले कपालमा लगाएको जानकारी दिँदै फेसनको संसारमा आफूलाई कसरी अलग र राम्रो देखिने भन्ने चुनौती भएका कारण यस प्रकारको फेसन अपनाएको उहाँले बताउनुभयो । “फेसन गर्दा पनि कुनै उद्देश्यका साथ गर्नुपर्छ,” गुरुङले भन्नुभयो, “गर्मी मौसममा कालो कपालभन्दा शीतलता दिने रङ उपयुक्त हुन्छ ।”

आफू सुन्दर र जवान देखिन कपालमा थरीथरीका रङ लगाउने पनि प्रशस्तै भेटिन्छ । सबैले प्रयोग गर्ने कलर उस्तै भए पनि कलर प्रयोग गर्नुको उद्देश्य, तरिका र रुचिमा भने फरक पर्छ । “गोल्डेन, ब्राउन, कफी रेड, रोज रेड हेयर कलरका नाम हुन् भने न्यू लुक, कोयरयन, माई स्टाइल कलरका ब्रान्ड हुन्,” मुल्मीले भन्नुभयो, “अहिलेको चलनचल्तीमा बढी प्रयोग गरिने हेयर कलर यिनै हुन् ।”

उहाँका अनुसार युवाप्ुस्ताको रोजाइमा यस्ता रङ पर्छन् भने वृद्धवृद्धाहरू ब्रगन्डी, हल्का रातो र कालो रङ प्रयोग गर्छन् । अहिले एउटै कम्पनी र ब्रान्डका हेयर कलरमा पनि नक्कली सामान आउन थालेकाले प्रयोगकर्ताले कलर छनोट गर्दा विशेष ध्यान दिनुपर्ने मुल्मीको सुझाव छ ।

पहिलाको तुलनामा धेरै फेरबदल भएको देखिन्छ । पहिले बजारमा जे भेटिन्छ त्यही प्रयोग गर्नेहरू पनि अहिले कलरको गुणस्तर र स्वास्थ्यवर्धकमा विशेष ध्यान दिने गर्छन् । कुन ब्रान्डको प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने कुरालाई पनि प्राथमिकतामा राखिन्छ ।

कपालमा धेरै थरीका रङ प्रयोग गर्दा नराम्रो हुन सक्ने भएकाले ध्यान दिन चिकित्सक तथा सौन्दर्यविज्ञको सल्लाह छ । कलरले कपललाई सेन्सिटिभ बनाउँछ र एलर्जी, कपाल झर्ने, टाउको चिलाउने, सुनिने जस्ता समस्या देखिन सक्छ । तसर्थ फेसनमा सावधानी भने अपरिहार्य नै हुन्छ । आफ्नो कपाल सुहाउँदो एउटै ब्रान्ड र कम्पनीको मात्र हेयर कलर प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१