मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७९, सोमबार ०५:५०

अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ ।

भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ जना हाराहारी आउने उनले बताए ।

अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ ।

उनले भने, “फ्याटी लिभर भएका दैनिक आठ÷दश जना आउँछन् । तीमध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरू हुन्छन् ।” ‘फ्याटी’ लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोको ‘सिरोसिस’ भएकालाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन ।

डा घिमिरेले ‘सिरोसिस’ भएको बिरामीको कलेजो जुटको बोराजस्तै हुने जानकारी दिनुभयो । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा सञ्जयकुमार यादवले अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका छ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताए।

तीमध्ये एक जनामा हेपाटाइटिस बी समेत देखिएको थियो । उनले भने, “नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।” लामो समयसम्म धेरै मदिरा पिउनेहरूमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरूमध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने उनले बताए ।

चिकित्सकका अनुसार नियमित धेरै मदिरा सेवन गर्नेका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । सुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिँदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने डा यादवले बताए ।

मदिरा धेरै सेवन गर्नेमा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुनेजस्ता समस्या देखिने डा यादवको भनाइ छ । हेपाटाइटिस बी र सी का कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, वंशाणुगत रोग हुनेहरू र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने डा यादवले जानकारी दिए ।

मदिरा धेरै सेवन गर्नेहरुले समय–समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१