देउवाविरूद्ध कांग्रेसकै खबरदारी सभा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७९, बिहीबार ०५:५१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टीकै नेता, कार्यकर्ताले खबरदारी सभा गरेका छन्।

सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको विरोधमा कार्यकर्ताले बुधबार काठमाडौंमा खबरदारी सभा गरेका हुन्।

नेता शेखर कोइराला पक्षका नेविसंघ, तरूण दल र महिला संघले राष्ट्रिय सभा गृहमा खबरदारी सभा गर्दा पार्टी केन्द्रीय सदस्य सरिता प्रसाईं र प्रतिमा गौतम पनि सहभागी थिए।

साथै खबरदारी सभामा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, नेताहरू गुरूराज घिमिरे, रञ्जित कर्ण पनि उपस्थित थिए। कोइराला पक्षका अधिकांश नेता देउवाविरूद्ध खबरदारी सभामा सहभागी भए पनि शेखर भने उक्त कार्यक्रममा देखिएनन्।

नेविसंघ, तरूण दल र नेपाल महिला संघको अध्यक्ष सभापति देउवाले आफू निकटलाई नियुक्त गरेका छन्। तर कार्यसमिति बनेको छैन।

यीलगायत १० भ्रातृ संस्थामा नेतृत्व र पूर्णता दिन माग गर्दै कोइराला पक्षका नेता, कार्यकर्ताहरू संघर्षमा उत्रिएका हुन्।

कांग्रेसले गत फागुनमै भ्रातृ संस्थामा नेतृत्व दिन सभापति देउवालाई अधिकार दिएको थियो। तर अझै कतिपय भ्रातृ संस्था नेतृत्वविहीन छन्। समयमा महाधिवेशन गर्न नसकेर अधिकांश भ्रातृ संस्था विघटन भएका थिए।

सभापति देउवाविरूद्ध खबरदारीमा उत्रिएकाहरूले मुख्यत: तीन माग उठाएका छन्। पहिलो, शेखर कोइराला पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने। दोस्रो, सभापतिमा देउवासँग पराजित भएका शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने र तेस्रो, टिकट वितरणमा न्यायोचित भागबन्डा हुनुपर्ने।

कांग्रेस विधानमा वरिष्ठ नेताको व्यवस्था छैन। तर व्यवहारिक रूपमा कांग्रेसले महाधिवेशनमा सभापतिसँग पराजित दोस्रो मत ल्याउने व्यक्तिलाई वरिष्ठ नेता मान्ने गर्दछ।

यसपालि महाधिवेशन हुँदा मौन बसेका रामचन्द्र पौडेललाई नै वरिष्ठ नेता भनेर कांग्रेसका माइन्युटमा लेखिने गरिएका छन्। ‘कनिष्ठ’ भनेर शेखरलाई वरिष्ठ नेता मान्न सभापति देउवा पक्षकै नेता मानिरहेका छैनन्। कांग्रेसले नयाँ मर्यादाक्रम केन्द्रीय समितिमा पेश गरेको छ तर यसबारे निर्णय भएको छैन।

सभापति देउवाले कोइराला पक्षबाट पदाधिकारी उठेका चन्द्र भण्डारी, मीनेन्द्र रिजाललगायत नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका छैनन्। जबकी आफू पक्षबाट सहमहामन्त्रीमा पराजित भएका जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्। सभापति देउवाले गुट हेरेर आफ्नालाई काखा र कोइराला पक्षलाई पाखा लगाउन खोजेको आरोप छ।

सभापति देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए। पाँच जना आफूलाई राखेर शेखर पक्षलाई दुई जना र प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालाई एक-एक जना केन्द्रीय सदस्य बनाएका छन्।

महाधिवेशनमा शेखरले ४० प्रतिशत मत ल्याएका थिए। तर भागबन्डा गर्दा उनले त्यसअनुसार केन्द्रीय सदस्य पाएनन्। सभापति देउवाले आफूलाई महाधिवेशनमा सहयोग गरेकाहरूलाई पनि भाग दिएर चित्त बुझाउन खोजेका छन्।

कोइराला पक्षका नेताहरूले महाधिवेशनमा आएको मतलाई सम्मान गर्न सभापति देउवालाई आग्रह गरिरहेका छन्। मतको सम्मान गर्ने भनेको ४० प्रतिशत भाग मागेको हो।

सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। उनले २३ जना केन्द्रीय सदस्य मनोनीत गरिसके, जसमा शेखर पक्षबाट २ जना मात्रै समेटिएका छन्। यो भनेको ८ प्रतिशत हुन आउँछ।

यस्तै टिकट वितरण गर्दा पनि न्यायोचित ढंगले गरिनुपर्ने माग उठेको छ। वैशाखमा भएको स्थानीय चुनावमा सभापति देउवा पक्षले आफूनिकटलाई टिकटमा प्राथमिकता दिएको र शेखर पक्षलाई पेल्न खोजेको आरोप लागेको थियो।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा न्यायोचित ढंगले टिकट वितरण हुनुपर्ने माग शेखर पक्षका नेताहरूले उठाइरहेका छन्। जनप्रतिनिधिहरूसँग सोमबार गरिएको प्रशिक्षणमा सभापति देउवाले ‘सबैलाई समेटेर जान खोजेको, कसैलाई काखा र पाखा नगर्ने र जनताका काम गर्न’ निर्देशन दिएका थिए।

शेखर पक्षका नेता देउवाका कुराबाट आश्वस्त हुन सकेका छैनन्।

कांग्रेसले साउन २ मा केन्द्रीय समिति बैठकबाट साउन मसान्तभित्र भ्रातृ संस्थालाई नेतृत्व दिने र पूर्णता दिने निर्णय गरेको थियो। साउन सकियो तर भ्रातृ संस्थालाई पूर्णता दिने सुरसारमा अझै कांग्रेस पुगेको छैन। त्यसैकारण नेविसंघ, तरूण दल र महिला संघ खबरदारी सभा गरिरहेका छन्।

पार्टी महाधिवेशन प्रतिनिधिसमेत भइसकेका निराजन थापाले खबरदारी सभामा बोल्दै सभापति देउवाको कार्यशैलीको आलोचना गरे।

‘सभापतिको एकाधिकारवादबारे लड्नुपर्ने बेला आएको छ। को, कहाँबाट लड्ने हो त्यो भन्नुस्,’ थापाले भने, ‘हिजो गिरिजा, सुशील सभापति हुँदा उहाँ (देउवा) ले पार्टीमा ४० प्रतिशत भाग माग्ने, अहिले हामीले माग्न नहुने?’

उनले सभापतिमा पराजित शेखरलाई वरिष्ठ नेता नदिइएकोमा पनि आपत्ति जनाए।

‘गिरिजा र सुशीलसँग आफू हार्दा शेरबहादुर देउवा वरिष्ठ नेता हुने, तपाईंसँग हारेका शेखर कनिष्ठ हुने यो कहाँको न्याय हो?,’ उनले प्रश्न गरे। कांग्रेसले मर्यादाक्रममा सहमहामन्त्रीहरू भन्दा तल शेखरलाई राखेको छ।

उनले भ्रातृ संस्थाका नेतृत्व चयन गर्दा सभापति देउवाले कोइरालासँग परामर्श नगरेको तर पनि नेताहरू ‘मौन बसेको’ बताएका थिए। ‘त्यसबेला ४० प्रतिशत माग्ने, नपाएपछि पार्टीसम्म फुटाउने अनि अहिले हामीले माग्दा भाग खोज्यो भन्ने?,’ थापाले प्रश्न गरे, ‘एकाधिकारवादको विरोधमा हाम्रा नेताहरू लागेनन् भने हामी विद्रोह गर्छौं।’

सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्दा २ जना मात्रै कोइराला पक्षलाई दिएको र यो ८ प्रतिशतमात्रै हुने उनको भनाइ थियो।

‘४० प्रतिशत माग्दा २ जना केन्द्रीय सदस्य दिने? २३ केन्द्रीय सदस्य मनोनीत गर्दा २ जना त ८ प्रतिशत मात्रै भयो,’ उनले भने, ‘यसरी तपाईं (शेखर कोइराला) ले कसरी कार्यकर्ताको संरक्षण गर्न सक्नुहुन्छ? केन्द्रीय सदस्यलगायत नेताले कसरी कार्यकर्ता संरक्षण गर्न? दुई जना केन्द्रीय सदस्य हुनु भएकाहरूले राजीनामा दिएर हामीसँगै आउनुहोस्। होइन भने तरूण-विद्यार्थी र महिला लडाएर राजनीति नगर्नुस्।’

आफूहरूले सभापति देउवाको व्यक्तिगत रूपमा आलोचना नगरेको थापा बताउँछन्। ‘हामीले सभापति देउवाको विरोध होइन उहाँका मतियारको विरोध गरेका हौं,’ उनले भने, ‘पार्टीको आन्तरिक राजनीतिमा न्यायोचित सहभागिता हुनुपर्दछ। दु:ख गरेका नेताले काम गर्न पाउनुर्छ।’

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल भने भ्रातृ संस्थालाई नेतृत्व र पूर्णता दिन केही ढिलाइ हुन सक्ने बताउँछन्। ‘सभापतिज्यू प्रधानमन्त्री पनि हुनुहुन्छ। उहाँ व्यस्त हुनुहुन्छ। यसबीचमा हामीले जनप्रतिनिधिलाई अभिमुखीकरण पनि दियौं, व्यस्त भइयो,’ उनले भने, ‘भ्रातृ संस्थालाई पूर्णता दिन गृहकार्य भइरहेको छ।’

कांग्रेसले फागुनमै भ्रातृ संस्थालाई नेतृत्व र पूर्णता दिने भनेको थियो तर समयवद्ध काम गर्न सकेन। अर्को भाखा साउन मसान्त तोकिएको थियो तर यो समय पनि घर्केको छ। विघटन भएका १० मध्ये नेविसंघ, तरूण दल, किसान संघ, आदिवासी जनजाती संघ र नेपाल महिला संघको नेतृत्व चयन भए पनि पूर्णता दिन बाँकी छ।

अझै तामाङ संघ, प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, ठाकुर समाज, भूतपूर्व सैनिक संघको नेतृत्व चयन गर्न बाँकी छ।

एक पदाधिकारीले दिएको जानकारीअनुसार पदाधिकारीसहित विधानअनुसारकै समिति ल्याउने कि तदर्थजस्तो समिति बनाउने भन्ने टुंगिएकै छैन। नेविसंघमा ३२ वर्षमुनिको अध्यक्ष रहेकोले त्यसैअनुसार अरू पद मिलाउनुपर्ने अवस्था रहेको उनले बताए।

शेखरलाई भाग खोज्न दबाब

गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला सभापति पदमा शेरबहादुर देउवासँग पराजित भए।

उनले मतदातालाई धन्यबाद दिन प्रज्ञा प्रतिष्ठानमा मंसिर २९ मा भेला गरेका थिए।

उक्त भेलामा सम्बोधन गर्दै कोइरालाले आफू र आफ्नो समूहले पार्टी रूपान्तरणका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए।

साथै कोइरालाले पार्टीभित्र भागबन्डा र गुटबन्दी नगर्ने बताएका थिए। ‘भागबन्डा खोज्ने र गुट बनाउने राजनीतिमा हामी लाग्दैनौं,’ कोइरालाले भनेका थिए, ‘तपाईंहरूले मलाई यति धेरै माया दिनुभयो। त्यही आधारमा मैले आजदेखि नयाँ ढंगले पार्टी रूपान्तरणको काममा लाग्छु।’

तर महाधिवेशन भएको छ महिना नबित्दै नेता कोइरालामाथि भागबन्डा खोज्न आफ्नै समूहका नेताहरूले दवाव दिन थालेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१