कुन शिर्ष नेता कहाँबाट चुनाव लड्लान्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०७९, मंगलवार ०५:४४

काठमाडौं । मंसिर ४ को संसदको चुनावमा प्रमुख नेताहरु प्रतिनिधि सभाको उम्मेदवार बन्न आ आफ्नो तयारीमा जुटेका छन् । कतिपयले अहिलेसम्म चुनावी क्षेत्रको टुंगो लगाउन समेत सकेका छैनन् । सुरक्षित सिट खोज्न कतिपय नेताको समय व्यतीत भइरहेको छ ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा ६ पटक डडेलधुराबाट चुनाव जितिसकेका छन् । उनी र विजयकुमार गच्छेदार मात्र ६ पटक लगातार संसदको चुनाव जित्ने नेताका रुपमा इतिहासमा नाम लेखाउन सकेका छन् । देउवा फेरि डडेलधुराबाट चुनाव लड्ने सम्भावना छ । उनको ध्यान कञ्चनपुर या समानुपातिकतर्फ पनि गएको चर्चा छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट चुनाव जितेका हुन् । उनी यसपटक पनि झापाबाट चुनाव लड्ने चर्चा छ । ओली झापाबाट २०६५ सालमा एकपटक मात्र चुनाव हारेको रेकर्ड छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्र फेरिदै आएको छ । उनी काठमाडौं, रोल्पा, चितवन र सिराहाबाट चुनाव लडिसकेका छन् । काठमाडौंबाट २०७० को चुनाव हारेका थिए । यसपटक प्रचण्डले चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने चर्चा छ । उनले चितवनलाई नै चुनावी क्षेत्र मानेको घोषणा गरिसकेका छन् । तर, उनको ध्यान सिन्धुलीमा नि गएको चर्चा छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहट हो । तर, उनको बसाईं काठमाडौंको कोटेश्वरमा छ । उनले अघिल्लो चुनावमा काठमाडौंबाट प्रतिष्पर्धा गरेर जितेका थिए । रौतहटबाट पनि चुनाव लडेर जितेको इतिहास छ । तर, २०७० को चुनावमा उनी काठमाडौं र रौतहट दुवै क्षेत्रबाट हार्न पुगे । माधव नेपाल यसपटक काठमाडौंबाट नभई रौतहटबाट चुनाव लड्ने चर्चा छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको चुनौती बढ्न थालेपछि उनले रौतहटलाई नै मजबुत चुनावी क्षेत्र बनाउन सक्रियता बढाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने तयारीमा छन् । तीनपटक गोरखाबाट चुनाव जितेका उनलाई यसपटक भने चुनौती बढी देखिएको छ । तर, उनको ध्यान गोरखा क्षेत्र नं १ तिर नै छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला सुनसरी हो । तर, २०७४ को चुनावमा सप्तरी २ बाट विजयी भए । सुनसरीमा उनलाई चुनाव कठिन हुने देखिएकाले सप्तरी सरे । यसपटक पनि उनी सप्तरीबाटै चुनाव लड्ने चर्चा छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट चुनाव जिते । उनी विगतमा सर्लाहीबाट चुनाव लड्थे । चुनाव हारेको इतिहास पनि छ । यसपटक पनि उनको ध्यान महोत्तरीबाट चुनाव लड्नेमै देखिन्छ । ठाकुर समानुपातिकमा बसेर नयाँ पुस्तालाई अवसर दिने सम्भावना पनि रहेको बुझिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन क्षेत्र नं ३ बाट चुनाव जित्न सकेका थिए । उनी २०७४ मा चुनाव जित्ने राप्रपाका एकमात्र सांसद बने । यही कारण उनलाई राप्रपाको अध्यक्ष बन्ने सफलता हासिल भयो । यसपटक पनि लिङ्देन झापाबाट चुनाव लड्ने चर्चा छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरबाट चुनाव लड्ने तयारीमा छन् । उनले मकवानपुरमा एमालेसँग तालमेलको पहल थालिसकेका छन् ।

काँग्रेसका प्रभावशाली नेताहरुमध्ये रामचन्द्र पौडेल तनहुँ १ बाट, विमलेन्द्र निधि धनुषा ३, प्रकाशमान सिंह काठमाडौं १, डा. शेखर कोइराला मोरङ, डा. सशांक कोइराला नवलपरासी, सुजाता कोइराला सुनसरीबाट, गगन थापा काठमाडौं ४, धनराज गुरुङ स्याङ्जाबाट चुनाव लड्ने तयारीमा छन् ।

एमाले नेताहरु ईश्वर पोखरेल काठमाडौं ५, विष्णु पौडेल रुपन्देही, शंकर पोखरेल दाङबाट चुनाव लड्ने गरी तयारीमा लागिसकेका छन् ।

माओवादी नेता कृष्णबहादुर महरा समानुपातिकमा बस्ने सम्भावना रहेको बुझिएको छ । अग्नि सापकोटा सिन्धुपाल्चोक, वर्षमान पुन रोल्पा, जर्नादन शर्मा रुकुमबाट चुनाव लड्ने गरी तयारीमा छन् ।

राजेन्द्र महतो धनुषा ३ बाट अन्यत्र जान्छन् या त्यही रहन्छन् भन्नेमा चासो छ । उनी सप्तरीबाट चुनाव लड्ने तयारीमा रहेको चर्चा पनि छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१