विप्लव तथा प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७९, मंगलवार ०५:४२

ललितपुर। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत उक्त पार्टीका आधा दर्जनभन्दा बढी शिर्ष नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रिय सदस्यहरु सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिनभित्र अदालतमा हाजिर हुनुपर्नेछ ।

उनीहरुविरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्धा छ ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट विद्रोह गर्दै सशस्त्र युद्धमा फर्किएका चन्द समुहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र त्यसक्रममा एकजनाको ज्यान गएको थियो भने देशभरी विभिन्न हिंस्रक घटना घटाएको उक्त समुहविरुद्ध देशैभरी उजुरी छन् ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्धा अझै फिर्ता भएको छैन, जसका कारण अदालतले समय–समयमा नै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१