तारकेश्वर घटना: श्रीमतीमाथिको शंकाले परिवारै सखाप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७९, मंगलवार ०५:३५

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएका चारै जनाले मृत्युको प्रारम्भिक कारण खुलेको छ । घटनास्थलमा भेटिएको चार पेज लामो सुसाईड नोटबाट प्रहरीले दिनेश पाण्डेले आफ्नी श्रीमती र छोरा–छोरीको हत्यापछि आफुले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

सोमबार बिहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए । दिनेशले श्रीमती र छोरा छोरीको हत्या गरेपछि आफुले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

 

सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएको थिएन । उनीहरुसँगको छलफलपछि शवको पोष्टमार्टमका लागि लैजान दिन तयार भएका थिए ।

चार वर्षअघि जग्गा किनेर बनाएको उक्त घरमा पाण्डे परिवार बस्दै आएको थियो । चार जनाको शव बन्द कोठाभित्र भेटिएको थियो । छोरा र छोरीको शव ओछ्यानमा थियो भने बाबु-आमाको भुइँमा लडेको अवस्थामा थियो ।

दिनेशले तीने जनाको हत्यापछि नाडी काट्नुका साथै झुन्डिनेसमेत प्रयास गरेको प्रहरीले जनाएको छ । उनको पेटमा छुराको चोट देखिएको छ ।

श्रीमती र छोराछोरीको टाउको र पेटका विभिन्न भागमा धेरैपटक छुरा प्रहार भएको देखिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

१२ वर्ष कुवेतमा वैदेशिक रोजगारी गरेर फर्किएका दिनेशले मनोहरामा खरिद गरेको जग्गा बिक्री गरेर पदमसालमा जग्गा किनेर घर बनाएका थिए ।

उनले पदमसालमै मोबाइल मर्मतको पसल सञ्चालन गर्दै आएका थिए । एक महिनाअघि मात्रै पसल बिक्री गरेका थिए । श्रीमती भने ८ महिनादेखि फेन्सी पसल चलाउँदै आएकी थिइन् । उनी एक महिनापछि सिजनल भिसामा बेलायत जाने तयारीमा थिइन् ।

उनले श्रीमतीलाई शंका गर्ने, श्रीमती जता गए उतै पछ्याउने गर्दै आएका थिए । श्रीमती बेलायत जाने भएपछि दिशेनको शंका अझै बढेको थियो ।

उनीहरुबीच यसअघि पनि पटक–पटक विवाद देखिएको थियो । तीन पटकसम्म प्रहरी कार्यालयमा पुगेर मिलापत्र गरेका थिए । यसले गर्दा पनि श्रीमान–श्रीमतीबीचको विवाद र आशंकाबाट सृजित घटनाका रुपमा बुझ्न सकिने प्रहरीले जनाएको छ ।

श्रीमती अरु केटाहरुसँग बोल्दा दिनेशले शंका गर्ने गरेका थिए । घटनास्थलमा सुसाईड नोटका साथै श्रीमतीले केटाहरूसँग म्यासेन्जरमा गरेका कुराकानीको स्क्रिनसटका प्रिन्ट कपीमा राखिएको थियो ।

स्टिच गरिएको उक्त नोटमा दिनेशले विवाह अघिदेखिका कुराहरू उल्लेख गरेका छन् । वैवाहिक जिवनबाट आफू सन्तुष्ट नरहेको समेत उनले पटक-पटक दोहोर्याएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा फर्किएदेखि दुवै जनाको सम्बन्ध राम्रो थिएन । श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो ।

पछिल्लो पटक दिनेशले घर बेच्ने भनेर १० लाख रुपैयाँ बैना समेत लिएका थिए । तर, सुनिताले बेच्न दिएकी थिइनन् । सुनिताको नाममा घर रहेकाले उनले बेच्न सकेनन् । सुनिताले घर किन्न बैना गर्ने व्यक्तिलाई एक लाख जरिवानासहित ११ लाख रुपैयाँ फिर्ता गरेकी थिइन् ।

दिनेशले सुनितासँग सम्बन्ध विच्छेद गर्न चाहेका थिए । तर, छोरा-छोरीको भविष्यका लागि भन्दै सुनिताले अस्वीकार गर्दै आएकी थिइन् । त्यसको साटो उनी आफैं वैदेशिक रोजगारीमा जाने तयारीमा थिइन् । तर, बेलायत उड्नुअघि नै उनको हत्या भयो । उनी र श्रीमतीको विवादको कारण छोराछोरीले समेत सजाय पाए । र शंका, विवाद विवादैमा एक परिवारको नास भयो ।

तारकेश्वर घटना: मृत भेटिएका चारै जनाको शव पोष्टमार्टमको लागि लगियो

प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएका चारे जनाको शव पोष्टमार्टमको लागि पठाइएको छ । पोस्टमार्टमका लागि शव उठाउन खोज्दा स्थानीयले केहीबेर अवरोध गरेका थिए । पछि स्थानीयले शव पोष्टमार्टमको लागि लैजान दिएका हुन् । चारै जनाको शव दुई वटा एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

आज सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएको थिएन् । अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र र डा. आयुष उपाध्याय सहितको टोली घटनास्थलमा पुगेको थियो ।

त्यसपछि प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो ।

घटनास्थलमा चार पेज लामो सुसाईड नोट भेटिएको थियो । श्रीमती र छोरा छोरीको हत्यापछि उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ९ बनेको समयमा पदमसालस्थित एउटा एकतले घरको झ्याल ढोका बन्द रहेको भित्रका मानिसहरु नबोलेको भन्दै प्रहरीलाई खबर गरिएको थियो ।

दिनेशकी छोरीलाई लिन आएको आर्मी स्कूलको बसले उनलाई बोलाएको थियो । तर, नबोलेपछि छिमेकीमार्फत खवर गर्दा घरको झ्याल ढोका बन्द रहेको, घरबाट आवाज आएको थिएन् । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहिको अनुसन्धान टोली खटिई घटनास्थलमा पुग्दा घरको सम्पूर्ण झ्याल ढोकाहरु भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको थियो । ढोका फोडेर हेर्दा घरभित्र चारै जनाको शव फेला परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१