उपत्यकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोके

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७९, शुक्रबार ०६:०२

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहोर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो ।

सडक मर्मतको काम पूरा नगरी फोहोर लान थालिएको र फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहोरको लेदो रहने भाडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहोर व्यवस्थापनमा अवरोध गरेको धुनीबेँसी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहोरका गाडी सिडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन् । आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहोरको व्यवस्थापन हुननसकेको हो ।

एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०