एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७९, आईतवार ०५:३२

काठमाडौं  । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास)आयात भएको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपैयाँको आयात भएको हो ।

आव २०७७/७८ मा एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । स्थानीय बजारमा इन्धनको खपत सामान्य बढेका कारण इन्धनको परिमाणमा समेत वृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।

गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निरन्तर उकालो लागेको थियो । मूल्य बढेका कारणले गर्दा दोब्बर परिणामको इन्धन आयात भएको निगमको भनाइ छ । मूल्य वृद्धिसँगै स्थानीय बजारमा माग बढ्ेकाले आयातमा समेत सामान्य वृद्धि भएको छ ।

निगमका अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै १७ लाख ४० हजार ९८६ किलोलिटर डिजेल आयात भएको छ । यस्तै पेट्रोल सात लाख ३७ हजार ३१२ किलोलिटर, हवाई इन्धन एक लाख ५७ हजार ५७२ किलोलिटर आयात भएको छ ।

मट्टितेल १७ हजार २८० र खाना पकाउने एलपी ग्यास पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन आयात भएको निगमको तथ्याङ्क छ । निगमका अनुसार एक वर्षमा डिजेल दुई प्रतिशत, पेट्रोल २४ र ग्यास १३ प्रतिशतले खपत बढेको छ । बढ्दो सवारीसाधनको प्रयोगले गर्दा इन्धनको खपत बर्सेनि बढ्ने गर्छ ।

एक वर्षमा ६१ अर्ब ५९ करोड ५८ लाख ९३ हजार रुपैयाँ बराबरको पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन ग्यास आयात भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१