काठमाडौं । नेपालमा हिन्दू धर्मालम्बी पुरुषहरुले लगाउने जनै पनि आयात हुन्छ । त्यो पनि चीनबाट । हिन्दू नारीले लगाउने चुरा पनि आयात हुँदै आएको छ ।
लगाउने लुगा देखि खानेकुरा सम्मको आयात बढ्दो छ । गत वर्षको साउनबाट यो वर्षको जेठसम्म ११ महिनाबीच १७ खर्ब ६३ अर्बको आयात भएको तथ्यांक छ । भन्सार विभागको तथ्यांकमा १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापारमा १७ खर्ब ६३ अर्ब २२ करोडको आयातमात्र भएको छ । व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ रहेको विभागको तथ्यांक छ ।
साँढे ३ खर्बको पेट्रोलियम पद्धार्थको मात्र आयात भइसकेको छ । विदेशी मुद्रामा खरिद गरिएको साँढे ३ खर्बको पेट्रोलियम पद्धार्थ ११ महिनामा बलेर सकिएको छ ।
निर्माण सामाग्रीको आयात गरेर डेढ खर्ब रुपैयाँ विदेशिएको छ ।सवारी साधन र पाटपूर्जा खरिका लागि १ खर्ब विदेशिएको छ । १ खर्ब भन्दा बढीको विद्युतीय सामाग्री खरिदमा रकम विदेशिएको छ ।
वनस्पतिको तेल ९० अर्बको निर्यात भएको छ । पछिल्लो समय विद्युत निर्यात समेत भएको छ । तर, जाडो महिनामा आयात पनि भएको थियो ।
जनै, पूजा गर्ने र उपहार दिने फूलका लागि पनि रकम बाहिरिएको छ । लगाउने कपडा र जुत्तामा समेत रकम बाहिरिएको छ ।
चामल भारत र अमेरिकाबाट आयात भएको तथ्यांक छ । मकैं पनि भारत, ब्राजिल, अर्जेन्टिना जस्ता देशबाट भएको छ । दक्षिण अफ्रिकाबाट पनि मकैं नेपाल आउने गरेको छ । धान, गहुँ, फापर, कोदो, जौं किन्दा आधा खर्ब रकम विदेशिएको छ । तरकारी, फलफूल, माछामासुमा पनि अरबौं रकम बाहिरिएको छ ।
खेतहरु बाझो हुन थालेका छन् । कृषिमा लगानी गर्दा घाटा पर्ने हिसाब निस्कन थालेपछि कृषकहरु निरुत्साहित भएका छन् । कृषि अनुदान वास्तविक किसानले नपाउने अवस्था पनि देखियो । धान रोप्ने प्रचलन अझै छ । तर, गहुँमा घाटा देखेर कृषकहरुले विस्तारै छर्न छाडेका छन् ।
फलफूल मनग्य फल्ने डाँडा देखि समथर मैदानहरु छन् । तर, नेपालले अरबौंको फलफूल आयात गर्छ । स्वदेशी फलफूल भन्दा विदेशी फलफूलले बजार लिइरहेका छन् ।
नेपालको रकम बाहिरिने अर्को क्षेत्र अध्ययनका लागि जानेबाट पनि हो । एमबीबीएस, सीए, नर्सिङ, इञ्जिनियरिङ अध्ययनमा जानेबाट अरबौं रकम विदेशिने गरेको छ । विद्यालय तहको शिक्षा लिन विदेशिने पनि छन् । यसले पनि ठूलो रकम विदेशिने गरेको छ । स्वास्थ्योपचारका लागि विदेश जानेबाट पनि रकम बाहिरिने गरेको छ । विशेषगरी, भारत, बेलायत, अमेरिका, सिंगापुर जस्ता देशहरुमा उपचार गर्न जानेहरु बढी हुने गरेका छन् ।
हामी देशको आर्थिक चुनौतीको कुरा गर्छौं तर आन्तरिक उत्पादनमा कमै ध्यान दिने गरेका छौं । आन्तरिक उत्पादनले एकातर्फ देशको ढुकुटी बाहिर जान दिदैन अर्कोतर्फ रोजगारी सृजना गर्छ । तर, आयातमुखी हुँदा हामीले विदेशी मुद्रा गुमाइरहेका छौं । सँग सँगै काम गर्ने उमेर समूहलाई बेरोजगार बनाइरहेका छौं । हाम्रो साधन र स्रोत हामी आफैले सदुपयोग गर्न सकेका छैनौं । कस्तुरी मृगले कस्तुरी नचिनेर भौतारिइरहेको जस्तो भएका छौं । देशमा रेमिटेन्स आउँछ । अर्थतन्त्रलाई धान्न त्यसको योगदान छ । तर, त्यो डोकोमा दूध दोएको जस्तो भएको छ । विदेशी मुद्रा संचिती घटेको घट्यै छ । यस्तै पारा रहेमा हामी कुनैपनि बेला टाट पल्टन सक्छौं । खतराको घण्टी बजिसकेको छ ।
प्रतिक्रिया