सम्बन्ध विच्छेद लाई लिएर अनेक टीका टिप्पणी हुने,चरित्र माथि प्रश्न उठाउने हाम्रो पुरातनवादी समाज कुनै सम्बन्ध किन विच्छेद मा गएर टुङ्गिन्छ भन्ने कुरा मा चाहिँ त्यति सकारात्मक देखिँदैन । यसै सेरोफेरोमा रहेर केही विचार विमर्श अनि विश्लेषण गर्ने प्रयास गरौं ।
सम्बन्ध विच्छेद कसैले रहर ले गर्दैनन् यो बाध्यताको उपज नै हो र यो एकदम नितान्त व्यक्तिगत कुरा हो तर यसले परिवार र समाजलाई नै कहीं न कहीँ प्रभाव चाहिँ पार्छ है फेरि । हाम्रो जस्तो पुरुष प्रधान समाज मा सम्बन्ध–विच्छेद गर्ने कानुन नहुँदा आपसमा जतिसुकै झै झगडा, मनमुटाव, हिंसा र दुव्र्यवहार भए पनि मिलेर बस्नुपर्छ, घर गरेर खानुपर्छ, श्रीमान्लाई सम्मान गर्नुपर्छ । उसको सत्मा बस्नुपर्छ भन्ने कुरा सिकाइन्थ्यो र मान्यता नी यही हो ।
तर आजकाल यस्ता मान्यता भत्काउँदै नारी सहनशीलता, धैर्यता र लचकता टुटाउँदै म पनि ऊ भन्दा के कम भन्ने आवेशमा सम्बन्ध–विच्छेद गर्न होमिने महिलाको संख्या बढ्दै गएको छ । यसको कारण हो महिला शिक्षित, सचेत, सशक्त तथा कानुनी व्यवस्था को जानकार हुनु।महिला हरु आत्म सम्मान का साथ जिउन चाहन्छन भन्ने संकेत नी हो । जुन कुरा पहिला पतिभक्ति भावनाका कारण महिला, सम्बन्धविच्छेद गरी अलग हुने कुरा सोच्नसम्म सक्दैनथे ।
सहन गर्नै नसक्ने अत्याचार र हिंसा हुँदा पनि उही पतिपरमेश्वर ठान्दै अनि आफ्नै ‘भाग्य’लाई धिक्कार्दै बस्थे । तर अहिले महिला मा चेतनाको विकास तथा मानसिकता परिवर्तन भएको छ श्रीमान को अत्याचार सहने कुरा हैन यसलाई उजागर गर्नु पर्छ भन्ने मामलामा । महिला शसक्त भए नी पुरुष बादी चिन्तन भएको हाम्रो समाजले केटी मान्छेलाई पराइ घर जाने सन्तानका रूपले नै हेर्दछ, महिलालाई जन्मैदेखि कमजोर बनाइएको हुन्छ उसको मानसिकता अर्काको निर्भरमा रहने जात हो भनेर दिमागमा घुसाइएको कारण उनीहरूले आडम्बरी इज्जतका नाममा आफ्नो इच्छालाई दबाएर राखेका हुन्छन्।्, अनि सम्बन्ध विच्छेद गरी सके पछि नी पुरुषलाई समाजले हेर्ने नजर र महिला लाई हेर्ने नजरमा जमीन असमानको भिन्नता देखिन्छ ।
महिला लाई उसको चरित्र माथि प्रश्न गरिन्छ झन् अहिले सामाजिक सञ्जाल प्रयोग गर्ने म जस्ता महिला जसले कुरीति र विसंगतिको विषयमा आबाज उठाउने गर्छ उसका फरक कुरामा वैचारिक बहस गर्न नसक्दा चरित्र हत्या गर्ने अभिप्राय ले अनेक टिप्पणी गर्छन् तिनै पुरुष हरुले।उसको नितान्त र व्यक्तिगत कुरालाई कोट्याएर मनोरन्जन लिने हाम्रो संकिर्ण सोचका कारण हामी सदैव पछाडि छौं ।
म मेरो मर्जीले विवाह गर्छु र मेरो मर्जीले सम्बन्ध बिच्छेद गर्छु भन्ने निर्णय गर्न किन नपाउने? भन्ने प्रश्न को बारेमा नी सोच्नु पर्ने अवस्था छ । सम्बन्ध विच्छेद को जड भनेको नै विवाह हो यसमा दुई मत छैन । हामी विवाहको बारेमा त्यति संवेदनशील हुन नै सकेनौं एकदम आवेश मा की प्रेम लाई सफल बनाउन की परिवार को दबाब मा । प्रेम हुदैमा विवाह नै हुनु पर्छ भन्ने सोच नी गलत हो भने परिवार ले चिन्दै नचिनेको संग विवाह गरिदिनु नी गलत हो अहिले को समयमा किनकि हाम्रो सोच विचार चेतना को स्तर आत्म निर्भरता चाहिँ पश्चिमा शैलीमा बढ्दै गयो तर हतारमा विवाह गर्ने कुरा चाहिँ कायम नै रह्यो जसको फल स्वरूप सम्बन्ध विच्छेद का घटना बढ्दै गएका हुन्।जो संग पूरा जिन्दगी बिताउनु छ भने पहिला उसलाई सम्पूर्ण रूपले जान्नु पर्ने हुन्छ खासमा लिभिङ टुगेदर को कन्सेप्ट पनि यही हो ।
पश्चिमा हरु २(४ वर्ष बसे पछि कम्फटेवल महसुस भयो भने र जिन्दगी अघि बढ्छ जस्तो लाग्यो भने मात्र विवाह गर्ने सन्तान जन्माउने कुरामा जान्छन्। अब हामीको मा पहिलो त लिभिङ टुगेदर को कन्सेप्ट सुरुवात नहुँदै बद्नाम भै सक्यो अनि समाजले पचाउँदैन पनि त्यो स्तर मा विकास भएको नी छैन । अहिले हामी पूर्वीय र पश्चिमा संस्कृतिको मिश्रण अवस्थामा छौं न पुरै पूर्वीय छोड्न सकेका छौं न पुरै पश्चिमा अँगाल्न नै ।
वास्तवमा भन्दा जीवन जिउने कला मान्छेका आ–आफ्नै हुन्छ । आफू कुन अर्थले जिउने भन्ने कुरा आफ्ना नितान्त व्यक्तिगत हुन्। त्यसैले विवाह पश्चात केही गरी दुई फरक प्रकृतिका मानिसहरूमा असमझदारी उत्पन्न भै कुनै पनि हालतमा समझदारीमा पुग्न नसकेपछि अपनाउने बाटो भनेकै सम्बन्ध विच्छेद हो ।
सम्बन्ध विच्छेद लाई न्यूनीकरण गर्न अब सरकारी स्तर बाटै नीति नै परिमार्जन गर्नु पर्ने देखिन्छ । विवाह पूर्व को यौन सम्बन्धलाई स्वीकृति नदिने हाम्रो कानुन र समाजका कारण त्यतिकै लागि भए नी हतार मा विवाह गर्ने अनि फुर्सद मा पछुताएर सम्बन्ध विच्छेद को अवस्था सम्म पुग्ने गरेको छ, विवाह पछि मात्र त थाहा हुने भयो सम्पूर्ण रूपले जान्ने बुझ्ने मौका ।
जिन्दगी मा धेरै सफल मानिएका व्यक्तिहरूको नी सम्बन्ध विच्छेद भै रहेको छ, कारण एउटै हो आफ्नो इच्छा चाहना र आत्म सम्मान संग सम्झौता गर्न नसक्नु ।
प्रतिक्रिया