अल नेपाल क्यारम एशोशिएसनले क्यारम च्याम्पियनशीप प्रतियोगिता गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७९, आईतवार १३:४७

काठमाडौं। अल नेपाल क्यारम एशोशिएसनले नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको क्यारम प्रतियोगिता गर्ने भएको छ । क्यारम च्याम्पियनशीप टुर्नामेन्ट २०७९ प्रथम संस्करण साउनको १३ देखि १५ सम्म आयोजना गर्ने भएको हो ।

रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरेर क्यारम एशोशिएसनले टेबल टेनिस हल, लैनचौरमा प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगितामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको एसोसियसनले जनाएको छ । एसोसिएशनले नेपालमा रहेका खेलाडीहरुको हक हितको संरक्षणका लागि राष्ट्रिय स्तरको क्यारम च्याम्पियनशीप टुर्नामेन्ट २०७९ को आयोजना गर्न लागेको जानकारी दिएको हो ।

अल नेपाल क्यारम खेलमार्फत नेपाललाई विश्व मानब समुदायमा चिनाउने र नेपाली झण्डालाई गौरबको साथ विश्व जगतमा फहराउन एशोशिएसनको मुख्य उद्देश्य रहेको छ । नेपालमा क्यारम खेल र खेलाडीको विकास र प्रवर्द्धन गर्नुका साथै क्यारम खेललाई सकारात्मक ढंगबाट परिचित गराउने पनि लक्ष्य राखिएको छ।

एसोसियसनको अवधारणा बारे जानकारी दिँदै प्रवक्ता इन्द्रप्रसाद अर्यालले आगामी साउन १३ देखि १५ गते सम्म टेबल टेनिस हल, लैनचौरमा प्रतियोगिता आयोजना गरिने जानकारी दिए । अर्यालले क्यारम खेललाई व्यवस्थापन गर्ने, खेलाडीहरुको हकहितका लागि विविध कार्यक्रमका योजनाहरु बनाउदै कार्यान्वयन गर्दै आएको बताए । र, उनले खेलाडीहरुको उज्ज्वल भविष्य निर्माण गर्न कटिबद्ध भएर एसोसिएशन अघि बढेको स्पष्ट पारे ।

नेपालभित्र क्यारम खेलमा भएका अनेकौं किसिमका बिकृति, बिसंगति र चुनौतीहरुलाई चिर्र्दै नेपाल राज्यभर क्यारम खेललाई प्रबर्द्धन र सुव्यवस्थितरुपमा संचालन गराउने आफुहरुको लक्ष्य रहेको उनले जिकिर गरे ।

त्यस्तै, महासचिव रोमन कार्कीले सबै लिंग, वर्ग र उमेरका मानिसलाई क्यारम खेलको औचित्य बुझाउन प्रतियोगिताको आयोजना गरेको बताए । कार्कीले एसोसिएशनले खेलको माध्यमबाट देशको नाम विश्वमा चिनाउने सोच राखेका खेलाडीहरुलाई प्रशिक्षण र परामर्श दिँदै आएको समेत जानकारी दिए ।

यसैगरी, सदस्य एस्तर कार्कीले एसोसिएशनले स्थानीय स्तर, राष्ट्रिय स्तर र अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगिताहरुमा भाग लिन खेलाडीहरुलाई प्रोत्साहन र प्रशिक्षण दिँदै आएको बताए । साथै, उनले क्यारम खेलको माध्यमबाट नेपाललाई विश्व जगतमा चिनाउने प्रयास गरिरहेको समेत स्पष्ट पारे । कार्यक्रमको सञ्चालन सदस्य सोनिका सिवाकोटीले गरेकी थिइन् ।

१८ औं सताब्दीतिर दक्षिण एशिया (भारत) मा राजा महाराजाहरुले क्यारम खेलको अविस्कार गरेका हुन् । पहिलो विश्व युद्ध पश्चात यो खेल विश्वभरिका जनमानसमा परिचित हुन थालिसकेको थियो । विश्वमा क्यारम खेललाई नियमन र विकास गर्न सन् १९८८ मा इन्टरनेसनल क्यारम फेडेरेसनको विश्वका १७/१८ वटा देशहरु मिलेर स्थापना गरिएको थियो ।

वर्तमान समयमा अमेरिका, युरोप, एशिया लगायत बिभिन्न महादेशहरु क्यारम खेलमा संस्थागत रुपमा सहभागी हुने गरेका छन् र घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका क्यारम टुर्नामेन्ट जस्तै क्यारम वल्डकप, क्यारम वल्ड च्याम्पिएनसिप, राष्ट्रपति कप, मेयर कप आदि खेलहरु खेल्दै आइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१