एसिया युथ रग्बी च्याम्पियनसिप नेपालमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७९, बिहीबार १५:२३

काठमाडौँ  । किर्गिस्तानको बिस्केकमा भएको एसिया रग्बीको कार्यकारी समिति बैठकले ‘एसिया रग्बी यू–१८ च्याम्पियनसिप २०२२’ नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । नेपालले पहिलोपल्ट रग्बीको अन्तर्राष्ट्रिय पतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

 

बिस्केकमा सोमबार सम्पन्न दुई दिने बैठकपछि बुधबार स्वदेश फर्किएका एसिया रग्बीका कार्यकारी समितिका सदस्य टंकलाल घिसिङले भने, ‘कार्यकारी समिति बैठकले एसिया रग्बी यू–१८ च्याम्पियनसिप २०२२ नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । नेपालले पहलोपल्ट आयोजना गर्ने अवसर पाएको अन्तराष्ट्रिय रग्बीको प्रतियोगिता दशरथ रंगशालामा हुनेछ । डिसेम्बर (सन् २०२२) मा हुने च्याम्पियनसिप आयोजनाको मिति चाँडै चुंगो लगाइने छ ।’

 

एसिया रग्बीमा ३५ देश सदस्य छन्, जसमध्ये १५ देखि २० देशका टिम यू–१८ च्याम्पियनसिपमा सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिवसमेत रहेका घिसिङले भने, ‘यो च्याम्पियनसिप नेपालमा रग्बीको प्रवर्द्धनका लागि उपलब्धि हुनेछ । उक्त अवसरमा रग्बी एसियाको कार्यकारी समिति र परिषदको बैठक पनि काठमाडौंमा हुनेछ । दक्षिण एसियाली स्तरका रेफ्री सेमिनार, रग्बीमा महिला नेतृत्वसम्बन्धी सेमिनार पनि हुनेछ । त्यसैले काठमाडौं त्यसबेला क्षेत्रीय खेलकुदको एउटा केन्द्र हुनेछ । यो हाम्रो लागि खुसीको कुरा हो ।’ एसिया रग्बीको युथ च्याम्पियनसिपमा सेभेन्सको टिमले प्रतिस्पर्धा गर्दै आएको छ । नेपालमा पनि गर्ल्स र ब्वाइजका रग्बी सेभेन्सकै टिमले यू–१८ च्याम्पियनसिप खेल्नेछन् ।

युथ च्याम्पियनसिपको तेस्रो संस्करण नेपालले आयोजना गर्न लागेको हो । यसअघि पहिलो संस्करण भारत र दोस्रो उज्वेकिस्तानमा भएको थियो । नेपाल रग्बी संघका कार्यबाहक अध्यक्ष दीपक देवकोटाले भने, ‘यू–१८ च्याम्पियनसिपको तयारी नेपाली सिनियर टिमको आधार हुनेछ । उमेर समूहदेखि नै नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै क्षमता अभिवृद्धि गर्ने अवसर पाउनेछ, जुन हाम्रो टिमलाई आवश्यक छ । हाम्रो महिला टिमले दक्षिण एसियाली स्तरमा राम्रो गर्ने आस छ र यसलाई युथ च्याम्पियनसिपमा प्रमाणित गर्न चाहन्छौं ।’ उनले गत वर्ष संघका तत्कालीन अध्यक्ष घिसिङ पदबाट राजीनामा दिएर राखेपका सदस्यसचिव भएपछि कार्यबाहक अध्यक्षको रूपमा रग्बी संघ सम्हाल्दै आएका छन् ।

नेपाली राष्ट्रिय टिमले असार पहिलो सातामात्रै बंगलादेशविरुद्ध ढाकामा सिरिज खेल्दै सिनियरको पूर्ण टिम मानिने ‘फिप्टिन्स’मा डेब्यु गरेको थियो । ढाकामा नेपालले फिप्टिन्सको एक र सेभेन्सका दुई खेल नै हारेको थियो । महिला टिमले साउनमा इन्डोनेसियाको राजधानी जकार्तामा क्षेत्रीय प्रतियोगिता खेल्दै छ, जहाँ सात देशका टिम सहभागी हुनेछन् । नेपाली पुरुष टिमले चेन्नई (सन् २०१५) को एसियन डेभलपमेन्ट सिरिजदेखि अन्तर्राष्ट्रिय रग्बीमा प्रतिस्पर्धा गर्न थालेको हो, जुन रियो ओलम्पिक २०१६ को प्रारम्भिक छनोट पनि थियो । नेपाली महिला टिमले पनि सन् २०१६ मा चेन्नईमा डेभलपमेन्ट सिरिज खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला चालेको हो ।

सन् २०१८ मा पुरुष टिमले सिंगापुर र महिलाले ब्रुनाईमा पनि डेभलपमेन्ट सिरिज खेलेको थियो । ती सबै प्रतियोगिता सेभेन्स टिमका हुन् । नेपाली टिम जापान भएको ‘टच रग्बी’ को फेस्टिभलमा पनि सहभागी भइसकेको छ । रग्बी वर्ल्ड कप २०१९ को ट्रफी टुर नेपालमा पनि ल्याइएको थियो, जसको सगरमाथा हिमश्रृंखलालाई आधार बनाएर खुम्बुमा खिचिएको तस्बिरले अन्तर्राष्ट्रियजगतमै चर्चा पाएको थियो । गत शनिबार काठमाडौंमा भएको यू–१६ टच रग्बीमा पुरुषका १० र महिलाका ९ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१