बङ्गुरपालकलाई बजार अभाव

evccfn@gmail.com' rastriyakhabar
८ असार २०७९, बुधबार १७:२७

कञ्चनपुरमा बङ्गुरपालकको संख्या बढेसँगै बजारको अभाव हुन थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालक सस्तोमै बङ्गुर बेच्न बाध्य भएका छन् । केही दिनअघि मात्रै चार हजार रुपैयाँमा विक्री हुने बङ्गुरका पाठाको मूल्य पछिल्लो समय आधाले घटेको छ । पछिल्लो समय बङ्गुरका पाठाको मूल्य दुई हजारमा झरेको बङ्गुर पालकहरू बताउँछन् । बङ्गुरको मासु प्रतिकेजी २८० रुपैयाँका दर पाउँदै आएकोमा पछिल्लो समय घटेर दुई सय रुपैयाँमा झरेको व्यवसायी बताउँछन् । ‘पहिले बङ्गुर र पाठा खरीदका लागि व्यापारी घरसम्मै आउँथे,’ एक दशकदेखि बङ्गुरपालन गर्दै आएका शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान तेजबहादुर चौधरीले भने, ‘यस वर्षको अहिलेसम्म बङ्गुर खरीदका लागि व्यापारी आएका छैनन् । बजार खोज्दै हिँड्नुपरेको छ ।’

चौधरीको फार्ममा पाठा र माउ गरी ५० भन्दाबढी बङ्गुर  छन् । बङ्गुर बेचेरै उनले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । यहाँका किसानले ड्युरेक, पाख्रिवास, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुर पालन गर्दै आएका छन् । ‘दुई वर्ष कोरोना सङ्क्रमणका कारण बङ्गुरपालन व्यवसाय प्रभावित बन्यो,’ चौधरीले भने, ‘कोरोनाको सङ्क्रमण कम भएसँगै व्यवसाय अगाडि बढ्नेमा आशावादी थियौं । तर सोचेजस्तो भएन ।’

बङ्गुरपालन व्यवसायमा संलग्न किसान रूपा चौधरीले बङ्गुरपालन गर्ने धेरै र बजार साँघुरो भएपछि निकै समस्या भएको बताइन् । आफूले पालेका बङ्गुर कैलाली, बझाङ, अछामसम्म पनि पुग्ने गरेको उनले बताइन् ।

बजारमा बङ्गुरको माग थोरै र प्रतिस्पर्धा धेरै भएकाले  वर्षौंदेखि बङ्गुरपालन गर्दै आएका किसानले पेशा नै छोड्नुपर्ने अवस्था आएको दीपक चौधरीले बताए । बङ्गुरको बजार प्रवद्र्धनका लागि स्थानीय तह र सम्बद्ध सरकारी निकायले सहयोग गर्नुपर्ने बङ्गुरपालकहरू बताउँदै आएका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१