वर्षायाममा आँखाको समस्या र हेरचाह

evccfn@gmail.com' rastriyakhabar
३ असार २०७९, शुक्रबार १६:५३

मनसुनको आगमनसँगै परेको वर्षातले हामीलाई गर्मीबाट राहत प्रदान त गरेको छ । तर, त्यसले आँखाका विभिन्नखाले समस्या निम्त्याउने जोखिम पनि उत्तिकै बढाउँछ । त्यसैले वर्षातलाई स्वागत गर्ने क्रममा आफ्नो आँखाको ख्याल राख्न भने पक्कै नभुलौं ।

नेपाल आफैमा कृषि प्रधान देश हो । मनसुनको सुरुवातसँगै देशका विभिन्न ठाउमा रोपाइँ सुरु हुन्छ । यसबेला आँखाको राम्ररी ख्याल नगरेको खण्डमा विभिन्नखाले समस्या, आँखाका अल्सर र ट्रमाहरु देखिने गर्छन् । विशेष गरी वर्षतको समयमा कन्जन्टिभाइटिस्, स्टाई, आँखा सुख्खा हुने समस्या, आँखाको कोर्नियल अल्सर इत्यादिलगायतका आँखाका समस्या देखापर्ने गर्छन् ।

बदलिँदो मौसम, हावामा हुने चिस्यानका कारण यतिबेला विभिन्न खाले रोगका किटाणु हावामा सक्रिय अवस्थामा तैरिरहेका हुन्छन् । यसले कमजोर शारीरिक अवस्था भएका व्यक्तिलाई चाँडै हमला गर्नका साथै आँखामा विभिन्न प्रकारका समस्या उत्पन्न गराउँछ ।

त्यसैले यसबेला आफ्नो आँखाको हेरविचार नगरे आँखाको समस्या झन् बढी रहन्छ । आँखाका केही समस्या यस्ता छन्ः

 

कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग

आँखा पाक्ने रोगलाई ‘कन्जन्टिभाइटिस’ पनि भनिन्छ । यसलाई गुलाबी आँखा पनि भन्ने गरिन्छ । कन्जिन्टिभा आँखाको सेतो भागमाथि पातलो पत्रको रुपमा रहेर बसेको हुन्छ । आँखाको सेतो भागमा समस्या भएका बेला आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने गर्दछ । यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । तर, यसले दीर्घकालीन असर भने गर्दैन । समयमै उपचार गरेको खण्डमा यो रोग सजिलै निको हुन्छ । धुलो, धुवाँ, प्रदुषण औषधि तथा कस्मेटिक्सको एलर्जीले पनि आँखा चिलाउने, पाक्ने, सुन्निनेलगायत समस्या हुने गर्दछ ।

वर्षातको समयमा यो समस्या अझै बढी हुन्छ । यसको उपचार समस्या र रोगमा अवस्थामा निर्भर गर्छ । विशेष गरी भाइरल प्रकोप बढी भएका बेला आँखाको उपचार अवस्था हेरी गर्नुपर्ने हुन्छ ।

कतिपय खराब ब्याक्टेरियाका कारणले हुने आँखाको समस्या विना औषधि पनि यत्तिकै निको भएर जान्छ । केहीमा एन्टी बायोटिकको प्रयोगले यस्ता समस्या छिटो निको हुन्छ । बेलाबेलामा चिसोपानीको प्रयोग तथा कालो चश्माको प्रयोगले पनि यस्ता समस्याबाट थोरै मात्रामा भए पनि राहत पाउन सकिन्छ ।

स्टाई अर्थात् आनो

यो संक्रमण परेलाको मुन्तिर सेवासियस ग्लाण्डमा हुने गर्छ । यो आँखाको बाहिर र भित्र दुबै ठाउँमा हुने गर्छ । यसलाई आनो अथवा ‘अन्धो’ पनि भनिन्छ । हेर्दा सानो, रातो गिर्खाजस्तो देखिने यो संक्रमण विशेष गरी परेलाको वरिपरि हुने गर्छ ।

यो हेर्दा पिलोजस्तो देखिए पनि पिलोभन्दा केही सानो हुन्छ । तर, झन् बढी पीडादायक हुन्छ । यसले हाम्रो शरीरलाई ठूलो हानी नोक्सानी गर्दैन । विशेष गरी यसमा पानी र पीपको मात्रा बढी हुन्छ । यसलाई बेस्सरी निचोरेको खण्डमा यसमा भएको किटाणु धेरै ठाउँमा सर्ने सम्भावना रहन्छ । त्यसैले यसलाई चाँडै सर्ने रोग पनि भनिन्छ ।

यसको संक्रमण हुँदा तातो बाफले सेक्नु अथवा पुदिनाको मसाज लिनु लाभदायक मानिन्छ । कुनै-कुनै अवस्थामा यसलाई निको पार्न औषधि तथा एन्टीवायोटिक प्रयोग पनि जरुरी हुन्छ ।

आँखा सुख्खा हुने

यो समस्या भएका व्यक्तिको आँखा चिलाउने, जलन हुने तथा आँखा सुख्खा हुने गर्छ । विशेष गरी आँखामा धेरै जलन भएमा आँखा धमिलो हुने सम्भावना रहन्छ ।

क्रमिकरुपमा परेला झिम्काइ राख्नाले पनि आँखालाई आराम मिल्छ । सामान्यतया यो समस्या बार्‍है महिना देखिने भए पनि वर्षातको समयमा फोहोर हातले आँखा समात्दा यसको संक्रमण अझ बढ्छ । यसबाहेक धुलो, धुँवा, प्रदुषणले पनि आँखाको जलनलाई बढाइरहेको हुन्छ ।

आई ड्रप्सले आँखा झिम्काउन तथा आँखाको जलन कम गर्न मद्दत मिल्छ । त्यसबाहेक आँखा दुःखेका बेला टीभी, कम्प्युटर, मोबाइलको प्रयोग नगर्ने तथा धेरैबेरसम्म किताब नहेर्नु पनि उपयुक्त मानिन्छ ।

कोर्नियल अल्सर

‘कोर्नियल अल्सर’ आँखा रोगको सबैभन्दा जटिल समस्या हो । यो हानीकारक जिवाणु तथा फंगसका कारणले हुने गर्छ । त्यसैगरी चोटपटकका कारण पनि कोर्नियल अल्सर हुने गर्छ । कन्ट्याक्ट लेन्स प्रयोग गर्नेहरुमा यसको असर बढी देखिन सक्छ । यो आँखाको नानीमा हुने गर्छ ।

यसको संक्रमणले आँखामा दीर्घकालीन असर पर्ने हुँदा विशेषज्ञसितको परामर्श जरुरी हुन्छ । कतिपय अवस्थामा यसको संक्रमणले मानिसको दृष्टि नै गुम्न सक्नेसम्मको परिस्थिति सिर्जना हुन्छ । यो अल्सरकै कारण दृष्टि गुमेको खण्डमा कोर्नियल ट्रान्सप्लान्ट एकमात्र विकल्प रहन्छ ।

आँखाको हेरचाह कसरी गर्ने ?

यस्ता समस्याहरुको रोकथाम तथा वर्षातको समयमा तपाईको आँखालाई सुरक्षा प्रदान गर्न यी उपाय अपनाएको खण्डमा आँखाका समस्याबाट बच्न सकिन्छः

आँखालाई सधैं सफा राख्ने । दिनमा २/३ पटकसम्म चिसो पानीले आँखा धुनुका साथै जहिले पनि साबुन पानीले राम्ररी हात धुने ।

सरसफाइमा विशेष ध्यान दिने । फोहोर हातले कहिल्यै आँखा नछुने ।

आफूले प्रयोग गर्ने रुमाल, महिलाले प्रयोग गर्ने आइलाइनर, मस्करा लगायतका सामान सकभर अरुलाई प्रयोग गर्न नदिने । किनकि यस्ता सामानको प्रयोगले आँखाको संक्रमण चाँडोभन्दा चाँडो सर्ने गर्छ ।

आँखाको जलन, आँखा रातो हुने, चिलाउने तथा आँखा पोल्ने समस्या वर्षातमा बढी देखिने गर्छ । धेरै बेरसम्म पढ्ने, कम्प्युटर हेर्ने अथवा टिभीको प्रयोगले पनि आँखाका समस्या निम्त्याउने हुँदा मानिसहरु ‘आई ड्रप’ प्रयोग बढी गर्छन् । तर, यदि तपाईंमा यस्तो समस्या देखिएको छ भने कहिल्यै आफुखुशी औषधिको प्रयोग नगर्नुहोस् । बरु चिकित्सकको सल्लाह लिनुस् ।

सकेसम्म ‘आई ड्रप्स’ को प्रयोग कम गर्नुस् । किनभने यसमा स्टेरोइड हुन्छ र यसको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्छ ।

कन्ट्याक्ट लेन्स प्रयोगकर्ताहरुमा आँखाको समस्या देखिए केही समयका लागि उक्त लेन्स बिर्सेर पनि प्रयोग नगर्नुस् ।

हावा, हुरी आउँदा चश्माको प्रयोग गर्नुस् । आँखाको मेकअप र स्विमिङबाट टाढै बसौं । बाहिरबाट आउँदा सदैव हात धुने बानी गरौं ।

सकेसम्म आफ्ना बालबालिकालाई फोहोर पानीबाट टाढा राखौं । बालबालिकालाई अक्सर बाहिर खेल्न मन लाग्ने हुँदा यसले विभिन्नखाले संक्रमण निम्त्याउने खतरा रहन्छ । त्यसैले यसबाट बच्न बालबालिको आँखाको सुरक्षामा विशेष ध्यान पुर्‍याउँ । वर्षातको समयमा हुने यस्ता संकमणबारे बेलैमा ध्यान नदिएको खण्डमा यसले आँखामा गम्भीर समस्या उत्पन्न गराउनुका साथै दृष्टि गुम्नेसम्मको खतरा बढाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१