काठमाडौं । पेट्रोल र डिजेलको लागत मूल्य २ सय नाघेपछि नेपाल आयल निगमलाई घाटा थपिन थालेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको लागत मूल्य लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ । डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।
मट्टीतेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुग्दा खाना पकाउने एलपी ग्याँसको लागत २५ सय ५१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निगमले प्रतिलिटर १७८ रुपैयाँमा पेट्रोल विक्री गरिरहेको आधारमा ३१ रुपैयाँ घाटा व्यहोर्न थालेको छ । डिजेलको प्रति लिटर १६५ मा बेच्दा ३७ रुपैयाँ प्रति लिटर घाटा व्यहोर्न थालेको छ ।
अब निगमले मासिक १० अर्ब जति घाटा व्यहोर्नुपर्ने आँकलन गरिएको छ । मूल्य समायोजन नगरे निगमलाई थप समस्या पर्ने देखिएको छ ।
निगमले आज विज्ञप्ति जारी गरी १५ दिनमै पेट्रोलमा ९५ करोड, डिजेलमा २ अर्ब ९१ करोड, हवाई इन्धनमा ६६ लाख र एलपी ग्याँसमा १ अर्ब १४ करोड घाटा रहेको तथ्यांक सार्वजनिक गरेको छ । आइओसीलाई दिनुपर्ने रकममा २२ अर्ब रुपैयाँ बक्यौता कायम भएको निगमले जनाएको छ ।
प्रतिक्रिया