वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्न सकिन्छ : ऊर्जामन्त्री

evccfn@gmail.com' rastriyakhabar
२ असार २०७९, बिहीबार १७:११

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी पाँच वर्षसम्म वार्षिक ७० अर्ब रुपैयाँ बढीको विद्युत् निर्यात गर्न सकिने दाबी गरेकी छिन् । आगामी आर्थिक वर्षको वर्षायाममा मात्रै करिब १५ देखि २० अर्ब रुपैयाँबराबरको अतिरिक्त विद्युत् निर्यात गर्न सकिने उनले बताइन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा मन्त्रालय शीर्षकको विनियोजनमाथिको छलफलमा उनले हाल वर्षायाममा बढी हुने तीन सय ६४ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा दैनिक १० देखि १२ करोड रुपैयाँको भारत निर्यात गरिरहेको जानकारी दिइन् । आन्तरिक माग धान्न भारतबाट आयात गरिएको विद्युत्को मूल्यभन्दा वर्षायाममा नेपालले निर्यात गरेको विद्युत्को मूल्य बढिरहेको उनको भनाइ छ । उनका अनुसार गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युत्को औसत मूल्य नौ रुपैयाँ सात पैसा प्रतियुनिट रहेको थियो भने वर्षामा नेपालले अहिलेसम्म निर्यात गरेको विद्युत्को औसत मूल्य ११ रुपैयाँ ३८ पैसा प्रतियुनिट रहेको छ । विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनले बताइन् ।

उनका अनुसार देशमा हालसम्म विद्युत् उत्पादनको जडित क्षमता करिब दुई हजार दुई सय मेगावाट पुगेको र ९४ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ । आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने उनले जानकारी दिइन् ।

आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको उनको भनाइ थियो । यस्तै उनले सिँचाइमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको, खानेपानी र सिँचाइमा डिमान्ड शुल्क हटाइएको, खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइए, विद्युत् खपत बढाउन ग्राहकले क्षमता वृद्धिको माग गरेमा तत्काल वृद्धि गर्ने व्यवस्था गरिएको जानकारी समेत दिइन् । उत्पादित विद्युत् स्वदेशमै खपत हुन नसकेमा मात्रै निर्यात गर्ने नीति लिइएको उनको भनाइ छ ।

१० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न र राष्ट्रिय प्रसारण लाइनबाट वितरित विद्युत्लाई भरपर्दो र गुणस्तरीय बनाउन ऊर्जा समिश्रणको अवधारणा अगाडि बढाइएको उनले जानकारी दिइन् । आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब सात सयदेखि एक हजार मेगावाट विद्युत् प्रणालीमा थपिँदै जाने उनको भनाइ छ । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युत्ले नै आन्तरिक माग धान्ने उनको दाबी छ । तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुने र बढी विद्युत् भारत तथा बंगलादेशसम्मको विद्युत् बजारमा बेच्ने व्यवस्था गर्ने उनले बताइन् ।

उनका अनुसार आगामी आर्थिक वर्षमा निर्माणाधीन रसुवागढी (१११ मेवा), माथिल्लो साञ्जेन (१४.८ मेवा), मध्य भोटेकोसी (१०२ मेवा) र निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई करिब सात सय १५ मेगावाट थप विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा थपिनेछ भने झण्डै तीन हजार पाँच सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छन् । यसैगरी १५ हजार चार सय ७७ मेगावाट क्षमताको विद्युत् आयोजनाको सरकारी एवं निजी क्षेत्रबाट अध्ययन भइरहेका छन् ।

यसैगरी उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि हामीलाई उच्च भोल्टेजका प्रसारण लाइनको जरुरी रहेको बताइन् । यसमध्ये ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन सञ्चालनमा आएको भन्दै उनले न्यू बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन महत्वपूर्ण प्रसारण लाइनका रूपमा रहेको हुँदा उच्च प्राथमिकताका साथ निर्माण गरिने बताइन् । यसैगरी रातोमाटे–केरुङ, लम्की–बरेली र दुहबी–पूर्णियाँ प्रसारण लाइनको सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१