जीवन बुटीको नामले प्रसिद्ध बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रसस्तै पाइने बझाङमा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जिवनशैली बदलेका हिमाली गाउँका बासिन्दा फेरी पुरानै अवस्थामा फर्किन थालेका छन् ।
जिल्ला वन कार्यालयको तथ्याङ्क अनुुसार बिसं २०७० मा ३ सय ७२ केजी संकलन भएको यार्सा २०७१ सालमा ३ सय ३८ किलोमा झरेको थियो ।
२०७३ सालमा भने यो परिमाणमा व्यापक रुपले गिरावट आएको देखिन्छ । २०७३ सालमा २ सय ३७ केजी मात्र उत्पादन भएको डीभिजन बन कार्यालयले जनाएको छ । यस्तै कोभिड १९ का कारण यार्सा संकलनमा केही असर परेको थियो । यार्सा संकलन सुरु भएदेखी हाल सम्मको उत्पादनको तुलना गर्ने हो भने सबै भन्दा कम २०७८ सालमा १४८ केजी ३७ ग्राम उत्पादन भएको डिभिजन बन कार्यलयले उल्लेख गरेको छ ।
यार्साको उत्पादन सँगै प्रत्येक वर्ष घटिरहेको मुल्यका कारण पनि यार्सा संकलकहरुका गाँउ भनेर चिनिने हिमाली गाँउपालिकाका बासिन्दाको जिवनशैलीमा पनि व्यापक फेरवदल आएको छ । ९ वर्ष सम्म मजदुरीका लागि भारत जान छाडेका साईपाल गाँउपालिका, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला लगायतका ठाँउका अधिकासं बासिन्दाहरु पहिला झै भारतमा मजदुरीका लागि फर्किन थालेका छन् । कोही खेतीपाती र पशुपालन तिर लागेका छन भने कोही पुरानै सिपलाई गुजराको माध्यम बनाउन थालेका छन् ।
‘पहिला वर्षमा ४÷५ लाख यार्साबाट आइ हाल्थ्यो । १० जनाको परिवारलाई वर्ष भरी पुग्थ्यो’ यार्साको उत्पादन घटे सँगै मजदुरी गर्ने पुरानै पेशामा फर्किएका दौलीचौरका दनु बोहराले भने ‘अव पहिला जस्तो यार्सा पनि पाइदैन । पाइहाले पनि मुल्य छैन ।’
आफु जस्तै धेरै जस्ता ब्यक्ति पुरानै पेशामा फर्किएको उनको भनाई छ । जडिबुटी विक्रीबाट राम्रै आम्दानी हुन थालेपछि यार्सा संकलन हुने क्षेत्रका धेरैले खेतीपाती र पशुपालन घटाएका थिए । धलौनका मिलन धामी भन्छन् ‘पहिला भेडा बेचिसकेकाहरु पनि अहिले फेरी भेडा पाल्न थालेका छन् । धेरै जसो त भारत तिरै जान्छन । यार्साको मौसममा घर आउछन् ।’
यार्सा टोलका नामले परिचित चैनपुरको प्रशासन रोड तिरका अधिकासं घरहरुमा ठडिएका पिल्लरहरुले अहिले सम्म घरको रुप लिन पाएका छैनन् । यार्साका कारण एकाएक आकासिएको सदरमुकामको जग्गाको मुल्यमा पनि पछिल्लो समय सस्तिन थालेको स्थानियहरु बताउछन् ।
यार्साको जथाभावी संकलन गर्नु, जंगल खन्नु, जंगलमा आगो लगाउनु जस्ता मान सिर्जीत कारणले यार्साको उत्पादन घटेको हुन सक्ने डिभिजन बन कार्यलयका कार्यलय प्रमुख कर्ण बहादुर खातीले बताए । यार्सा उत्पादन हुने स्थानमा हजारौ मानिसहरुको आवतजावत, प्लाष्टिक र सिशाजन्य फोहोर, जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्ने गर्दा प्रदुशण बढदै गएकाले पनि यार्साको उत्पादन घटेको उनको तर्क छ । यसबाहेक हिमपात कम हुने र जलवायु परिवर्तनको असर पनि यार्सा उत्पादनमा परेको उनले बताए ।
प्रतिक्रिया