काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७९, बुधबार ११:५४

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।

अब २२ हजारभन्दा केही बढी मत मात्र बाँकी छ सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

 

यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय ३९ मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन् ।

काठमाडौं महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन् । उनले हालसम्म ३४ हजार ५ सय ७० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९ सय २१ मत प्राप्त गरेका छन् । यहाँ अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया