संसद्को ११औँ अधिवेशन सुरु हुने, यस्तो छ प्रतिनिधिसभाको सम्भावित कार्यसूची

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७९, मंगलवार ०५:२८

काठमाडौँ । संघीय संसद्को ११औँँ अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९/८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसदको महासचिव डा.भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसअघि सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले फौजदारी कुसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

नवौँ र दशौँ अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१