मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस तीनमा विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७९, आईतवार ०५:५८

काठमाडौँ । हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा (एमाले)ले ६ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ ।

त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेको छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ ।

१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा (एकीकृत समाजवादी) दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेको छ ।

कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हो भने माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ ।

नेकपा एमाले
मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले दुई सय ७९ मत पाए । उपाध्यक्षमा भने तीन सय २५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भएकी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यो पालिकाको अध्यक्षमा घले नै निर्वाचन चएका थिए भने उपाध्यक्ष कांग्रेसले जितेको थियो । यो पटक पनि उपाध्यक्ष कांग्रेसले नै जितेको हो ।

त्यस्तै, मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । घले आठ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङ्मा गुरुङले सात सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याई विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत पाए ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन् । विष्ट यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका रिङ्जिन नामगेल गुरुङ ८६७ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत ल्याए । उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याइ विजयी भएकी छिन् । कांग्रेसकी धेच आङ्मो गुरुङले ६७७ मत ल्याएकी छन् ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिकामा एमालेका टसी गुरुङ विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार टासी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजित गरेर विजयी भएका हुन् । टसीले ६६८ मत पाउँदा टासी नुर्बुले ५१४ मत मात्रै ल्याए ।

उपाध्यक्षमा एमालेकै छिमी विष्ट विजयी भएकी छन् । उनले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमीले ६३२ मत पाउँदा छिरिङले ५३८ मत पाइन् ।

डोल्पाको शे(फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार धावा सम्डुक गुरूङ निर्विरोध वियजी भएका हुन् । एमाले डोल्पाका सचिवसमेत रहेका गुरूङबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।

नेपाली कांग्रेस
नेपाली कांग्रेस अहिलेसम्म तीन पालिकामा विजयी भएको छ । सबैभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेका कांग्रेसले मनाङको दुई गाउँपालिका र मुस्ताङको एक पालिका गरी तीन पालिकामा विजयी भइसकेको हो ।

मनाङको नार्पा भूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । नार्पा भूमिबाट कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाए । खसेको ३०५ मतमध्ये ३५ मत बदर भएको छ ।

उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन् । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध अध्यक्ष चयन भएका थिए ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले ८२० मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ६४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी ७६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत ल्याए ।

२०७४ सालमा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६९३ मत ल्याई विजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६१८ मत ल्याइन् ।

नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र)ले पनि खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा उसले खाता खोलेको हो । माओवादीका नारा सिं रोकायले ७७० मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहोरा ७५९ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले ७४९ मत प्राप्त गरिन् ।

नेकपा (एकीकृत समाजवादी) निर्विरोध
नेकपा (एकीकृत समाजवादी)ले डोल्पाका दुई पालिकामा निर्विरोध भइसकेको छ । काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए । २०७४ सालमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध भएका थिए । २०७४ सालमा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१