काठमाडौं । नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष कुसुम लता सिंहले अध्यक्ष पदको पदबहाली गर्नु भएको छ ।
शनिबार कार्यालयमा एक समारोहका बिच सिंहले संघको कार्यालय भृकुटीमण्डपमा अध्यक्ष पदको पदवहाली गर्नु भएको हो ।
त्यसअवसरमा सो संघका कार्यकारिणी पदाधिकारीहरू लगायत संघका सदस्यहरूले नब नियुक्त अध्यक्ष सिंहलाई खादा, फुल, मालाले स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष सिंहले नाफारहित र सेवामुलक संस्थाको रुपमा कार्य गर्दै आएको संघले विगतदेखि अंगीकार गर्दै आएका कार्यहरु समाजमुखी रहेको बताउनुभयो ।
समाजसेवाको पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा संघकी प्रशासन सचिव सुमि लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कुसुम लता सिंह नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको श्रीमती हुन् । सिंहले आईजीपीको जिम्मेवारी सम्हालेसँग महिला संघको अध्यक्ष आईजीपीको श्रीमती बन्ने परम्परा छ ।
प्रहरीका श्रीमतीहरुले पनि परोपकारी काम गर्न संघ स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका श्रीमतीहरूको ‘नेपाल प्रहरी श्रीमती संघ ’ सामाजिक सेवाका लागि अभिप्रेरित भई राष्ट्रसेवा र राष्ट्रमा समयसमयमा आउने विभिन्न प्रकारका दैवी प्रकोपको क्षेत्रमा काम गर्न क्रियाशील छ ।
श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती संघको अध्यक्ष बन्ने परम्पराअनुसार स्थापना भएको सङ्घले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ । गैरराजनीति र मुनाफारहित संस्थाको रूपमा विसं २०४१ मा स्थापना भएको संघले आफूसँग भएको सीमित स्रोत र साधनले समाजको उन्नति, प्रगति र विकासका लागि काम गरिरहेको छ ।
प्रतिक्रिया