जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् । पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताए ।
‘‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले खोज्यौँ”, प्रधानमन्त्री देउवाले भने, “तर एमालेले गर्दै आएको संसद् अवरुद्धका कारण विधेयक पेस गर्न सकेका छैनौँ ।” यद्यपि अब बस्ने संसद्को बैठकमा विधेयक टेबल गरी पारित गरिने उनको भनाइ थियो । पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता रहेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले पार्टीको निर्देशन र गठबन्धनविरुद्ध जानेलाई तत्काल कारबाही गरिने बताए ।
“पार्टीका नेता कार्यकर्ता हामी सबै अनुशासनमा बस्नुपर्छ”, उनले भने, “पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने, गठबन्धनलाई हराउन मद्दत गर्ने कुरा सह्य हुँदैन, त्यस्तालाई तत्काल कारबाही गर्छौँ ।” गठबन्धनलाई जोगाई राख्नुपर्छ भन्ने पार्टीको महाधिवेशन र केन्द्रीय समितिको म्याडेन्डअनुसार गठबन्धन भएकाले यसविरुद्ध कसैलाई जाने छुट छैन, उनको कथन थियो ।
जनताले ठूलो लडाइँ र सङ्घर्ष गरेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई विगतमा कुल्चिने प्रयास भएकाले अझै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक आवश्यकताका आधारमा गठबन्धन बनेकाले गठबन्धलाई मजबुत बनाएर लैजान सकिएमात्र मुलुकमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए ।
तीनै तहको निर्वाचनमार्फत जनताको तागत लिई मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिको नयाँ युगको थालनी गर्ने सोचका साथ पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षा गर्न, गणतन्त्रको सुदृढीकरणका लागि र जनताको इच्छा, आकाङ्क्षा पूरा गर्नका निम्ति तीनै तहको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे।
प्रतिक्रिया