प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न सकिदैन् : प्रवक्ता कार्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७९, आईतवार ०५:१२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले भने, “संविधानले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निमित्त, जुन परिकल्पना गरेको छ, त्यसलाई वर्तमान सरकारले रक्षा र प्रोत्साही गर्दै लैजाने छ ।”

पत्रकारिता क्षेत्रले मुलुकको परिवर्तन र जनताको चाहनाअनुसार मुलुकलाई सुशासन र कानुनी शासनका माध्यमद्वारा समृद्धिको दिशामा अग्रसर गर्नका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मन्त्री कार्कीको भनाइ छ ।

उनले भने “स्वतन्त्र प्रेस र सरकार साथसाथै हिँड्न सकेन भने जनताको लोकतन्त्रप्रतिको चाहना र समृद्धिको चाहना पूरा हुन सक्दैन, त्यसैले निर्भिकताका साथ आफ्नो स्वतन्त्रतालाई मध्ये नजर गर्दै समाजलाई सुसूचित गर्नहोस्, सरकारलाई पहरेदारी गर्नुहोस्, सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईहरुले आग्रह मात्रै होइन, बाध्य गराउने परिस्थितिको पनि सिर्जना गर्नुहोस्, धत्यसको वर्तमान सरकारले स्वागत गर्छ ।” सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै नभई सम्वद्र्धनसमेत गर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा पुरस्कृत व्यक्तित्व तारानाथ दाहालले संविधानको मर्मअनुरुप सम्बन्धित क्षेत्रको सुझावका आधारमा सञ्चारसम्बन्धी एकीकृत छाता ऐन जतिसक्दो चाँडो ल्याउन सरकारसँग आग्रह गरे। महासङ्घका अध्यक्ष विपुल पोखरेलले राज्यले सञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि नियमनसँगै अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ‘लोकतन्त्रको आधारशीला, व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने मूलनारासहित  विभिन्न कार्यक्रम गरी सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइएको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१