मिल्ला त देशभर गठबन्धनको वडा तहसम्म तालमेल ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७९, बिहीबार ०४:३६

काठमाडौं । पाँच दलको सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाहरुमा प्रमुख र उपप्रमुखमा तालमेल मिलाएका छन् । नगरपालिका र गाउँपालिकाहरुमा अधिकांशको प्रमुख र उपप्रमुखमा तालमेल मिलाएका छन् । तर, वडा तहसम्म कमैमात्र तालमेलको कुरा मिलेको छ ।

पालिकाको प्रमुख र उपप्रमुखमा तालमेलको कुरा मिलेपनि वडा तहमा नमिल्दा गठबन्धनको मतमा नकारात्मक असरहरु पर्न सक्ने विश्लेषणहरु भइरहेको छ । कतिपय पालिकाहरुमा गठबन्धनभित्र खटपट भई अलग उम्मेदवारी दर्ता भएको छ । १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएकाले गठबन्धनले तालमेललाई सफल बनाउने प्रयास थालेका छन् ।

गठबन्धनका शिर्ष नेताहरुले निर्णय नै गरेर तल्लो तहसम्म गठबन्धन गर्ने सहमति गरेका छन् । उनीहरुले जिल्ला र क्षेत्र तहलाई समेत सक्रिय बनाउने निर्णय लिएका छन् ।

गठबन्धनको निर्णय विपरित गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने सहमति बनाएका छन् । योसँगै ललितपुर महानगरपालिकामा नेकपा एसले मेयर र उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिनेछ । विभिन्न पालिकामा पनि यस्तै कदम चाल्ने तयारी भइसकेको छ ।

उम्मेदवारी दर्ता गरेको भएपनि फिर्ता गराएर पालिकाका वडा तहसम्म बाँडफाँटको समझदारी गर्ने गृहकार्य भइरहेको छ । सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि काम बढाएको छ ।

तल्लो तहसम्मको गठबन्धन सजिलो भने छैन । पालिकाहरुमा बल्लतल्ल कुरा मिलाएका दलहरुले टिकट दिइसकेका कार्यकर्तालाई पछाडि हटाउन कठिन भइसकेको छ । त्यसले अर्को विद्रोह ल्याउन सक्छ । तर, गठबन्धनबीचको तालमेललाई सार्थक बनाउन कठोर निर्णय गर्नुपर्ने गरी दलहरु केन्द्र देखि स्थानीय तहसम्म तालमेल मिलाउन जुटेका छन् ।

उम्मेदवारी दर्ता गरेपनि वडाध्यक्ष र सदस्यको तहसम्म फिर्ता गराउने र उम्मेदवारी कायम राख्ने हिसाबकिताबमा जुटेका छन् । सम्भवतः गठबन्धन दलहरु १६ वैशाख ठोस निर्णयमा पुग्ने बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१