नेपाल व्यवसायिक बाख्रापालन महासंघ सरकारसँग असन्तुष्ट, आगामी बजेटमा आफ्ना माग पूरा गर्न अघि सार्यो सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७८, सोमबार ०५:५०

काठमाडौं । नेपाल व्यवसायिक बाख्रापालन महासंघले राव्यले किसानलाई बेवास्ता गरेको गुनासो पोखेको छ । महासंघले बाख्रापालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरुले अघि सारेका मागलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले आगामी वर्षको बजेटमा आफूहरुको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ । महासंघले अघि सारेका मागमा किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, कृषि तथा पशुपन्छी पालन उद्यमस्थलहरुमा आवश्यकत्ताअनुसारको विद्युत तत्काल उपलब्ध गराउनुपर्ने, बाख्राहरुलाई खोरेक र पिपिआर पूर्ण खोपको सुनिश्चितता् गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ता, दुर्घटना विमा र सञ्चय कोषको व्यवस्था गरिनुपर्नेलगायत छन् ।

महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कारण कृषिलाई बुझ्ने चिन्तनमा दरिद्रता भएको आरोप लगाए । उनले आम नेपालीले जीवनको चिन्तनलाई बदल्नु आवश्यक रहेको धारणा राखे ।

उनले किसानहरुको समस्या र माग लिएर आफुहरु पालिकादेखि प्रधानमन्त्री कार्यालयसम्म धाएको पनि स्मरण गराए । ‘म काठमाडौंमा १७ वर्ष पत्रकारिता गरेपछि कलम छाडेर बाख्रा गोठालो भएको छु । म स्वाभिमानका साथ कलम छाडेर बाख्रापालनमा लागेको हुँ’–उनले भने ।

 

साथै, उनले कृषक बाख्रा पाल्ने मान्छे मात्र नभएर मान्छे पाल्ने भगवान भएको पनि धारणा राखे । ‘जुनसुकै कर्ममा रहेपनि मान्छेको जीवन कृषि क्षेत्रमा आधारित छ । म एउटा बाख्रा पाल्ने मान्छे मात्र होइन्, मान्छे पाल्ने जिउँदो भगवान हो । यो कुरा बुझ्ने क्षमता सबैले बनाउनुपर्छ’–उनले भने ।

साथै, उनले कोराना कालमा सबै मान्छे घरभित्र बसेको समयमा किसानहरु खेतबारीमा खटेर सबैलाई बचाएको स्मरण गराए । उनले भने,‘कोरानाले मान्छे थलिएर पोसिलो खाना चाहियो भन्ने समयमा मासुको सुप खाने कसले बनायो ? त्यसैले अन्नदाता किसानलाई सबैले सम्मान गर्नुपर्छ ।’

उनले पत्रकारिताप्रति किसान असन्तुष्ट रहेको भन्दै आफुले खाएको अन्नको भाडा तिर्नको लागि भएपनि हप्तामा एकपटक कृषिबारे लेख्न आम सञ्चारकर्मीहरुमा आग्रह गरे ।

‘गीत लेख्ने लेखकहरु माया पिरतीका गीत छाडेर किसानका गीत लेख्नुहोस । कथाकारहरुले एउटा कथा लेखोस । पत्रकारले समाचार लेखोस । उपन्यासकारले उपन्यास लेखोस । कविले कविता लेखोस’–उनले भने ।

साथै, देश र राज्य सञ्चालनमा बसेकाहरुले किसानलाई नबुझेसम्म देश श्रीलंकाको बाटोमा अगाढि बढ्ने पनि खतरा औंल्याए । कृषिमा लागेका जनसंख्याको ६० प्रतिशतले बाख्रा पाल्ने देश नेपालमा नेपाली किसानको बाख्राको बजार ध्वस्त हुनेगरि भारतबाट नेपालमा बाख्रा आयात भैरहेको पनि उनले तथ्यांक पेश गरे । उनले गाडीमा चढेर हिँड्ने नेताहरुलाई सुमेरु पर्वत ठानेर घुम्ने प्रवृति देशलाई ध्वस्त पार्ने कारक भएको टिप्पणी गरे ।

त्यस्तै, महासंघका केन्द्रीय कोषाध्यक्ष दिपक गौतमले सिंहदरवारमा मात्र गणतन्त्र आएको भन्दै अझैसम्म किसानको गोठमा गणतन्त्र नआएको गुनासो पोेखे । ‘गणतन्त्र आयो त भनिन्छि, तर अहिलेसम्म किसानको खेतबारीमा गणतन्त्र आउन सकेन । गणतन्त्र सिंहदरबार र बालुवाटारमा मात्र आएको छ’–उनले भने ।

साथै, उनले किसानका कुरा जोडदार रुपमा उठाइदिन आम सञ्चारकमीहरुसँग आग्रह गरे । ‘विश्वका अन्य कुनैपनि देश दश प्रतिशतभन्दा माथि कृषि कर्ममा नरहेपनि आफ्नो देशलाई कृषिमा आत्मनिर्भर बनाएका छन् । हामी ६० प्रतिशत भन्दा बढि जनता कृषि कर्ममा रहेको छौं । तर, सबथोक विदेशबाट आयात गरेर हाम्रो जीवन चलाउन बाध्य छौं, यो दुःखदायी अवस्था हो । यसप्रति सबैको ध्यान जानुपर्छ ।’–उनले भने ।

जुनसुकै सरकार आएपनि किसानका मुद्दामा गम्भीर बन्न नसकेको भन्दै उनले किसानले उत्पादन नगरे कसैले खान नपाउने बताए । उनले नेपालका थुप्रै परिवर्तनका आन्दोलनमा किसानले महत्वपूर्ण भूमिका खेलेपनि सरकारले किसानका समस्या बुझ्न र ती समस्याको समाधान गर्न नसकेको पनि उल्लेख गरे ।

यस्तै, उनले बिमा कम्पनीबाट किसानहरु निकै पीडित भएको गुनासो गरे । ‘विदेशमा कमाएको पैसा आफ्नै देशमा कृषि कर्ममा लगाउन चाहने युवाहरुले सरकारको तर्फबाट राम्रो वातावरण पाउन नसकेको अवस्था छ, विदेशमा कमाएको पैसा कृषि कर्ममा लागेर डुबेपछि ऋण तिर्न पुनः विदेशिने बाध्यतामा ती युवाहरु छन् । यतातर्फ राज्यको ध्यान जाओस ।’

किसानहरुले गरेको दुःखका साथै उत्पादन गरेको वस्तुको मुल्य नपाउनु दुःखद् कुरा भएको उनले बताए । ‘एक कप चियाको मूल्य छ तर, किसानले वर्ष दिन पालेको बाख्रालाई विचौलिया आएर उचालेर मुल्य तोक्छन् । यो निकै दुःखद् कुरा हो,’–उनले भने ।

उनकाअनुसार किसानहरुले लागत मूल्यको ३० प्रतिशत मात्र पाएका छन् । तर, विचौलियाले होटलमा ल्याएर एक केजी मासुको प्लेटिङ गरेर पाँच हजार बनाउने गरेको उनले तितो यथार्थ सुनाए । तर, पनि सरकार यी सबै विषयमा मौन देखिएको उनको गुनासो थियो । यस्तै, उनले किसान जहिलेपनि ठगिएको भन्दै किसानको पक्षमा बोलिदिने कोही नभएको गुनासो पोखे ।

नार्कका पूर्व निर्देशक डा. टेकबहादुर गुरुङले दुःखको मूल्य नपाएपनि उत्साहित रुपमा अगाडी बढेका बाख्रापालक किसानहरुको उर्जाले आफुलाई निकै खुसी तुल्याएको बताए ।

 

साथै, कृषि क्षेत्रको भविष्य निर्माण गर्नको लागि अन्य क्षेत्रले समेत भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।

आफुले नेपालको प्रथम राष्ट्रिय बाख्रा सम्मेलन गरेको स्मरण गर्दै उनले भने,‘नेपाली किसानहरुको हितको लागि सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ । नेपालका जडिबुटी खाएर हुर्किएका बाख्राको महत्व फरक छ भन्ने महत्व बुझाउन सक्नुपर्छ ।’

बिमामा देखिएका समस्या समाधानमा सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । आजको पत्रकार सम्मेलनको सञ्चालन भने महासंघका केन्द्रीय महासचिव अमृत तिवारीले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१