नवनियुक्त कानूनमन्त्री नेमकिपाबाट एमाले हुँदै नेकपा एस पुग्दा मन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७८, शुक्रबार ०५:०७

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छाडेर २०४८ अघि नेकपा एमालेमा जोडिएका थिए, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी ।

संघीय संसद्को निर्वाचनमा समेत उहाँ २०४८ मा प्रतिस्पर्धी बने । तर, पराजित हुन पुगेका थिए । उहाँको घर दैलेख हो । बाँकेको नेपालगञ्जमा केही वर्ष वकालत गरेर उहाँ काठमाडौंमा छिरेका हुन् ।

हाल उहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट छन् । नेकपा विभाजनको क्रममा उहाँ उक्त पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट थिए ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै नेकपा विभाजित हुँदा एमालेमै रहे पनि अन्ततः २ भदौमा नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा नेपालनिकट हुन पुगेका हुन् ।

काठमाडौंको अनामनगरमा उहाँको ‘ल फर्म’ छ । एमाले निकट कानुन व्यवसायीहरूको संगठनमा आबद्ध हुँदै नेपाल बार एसोसिएसनको उपाध्यक्ष पनि भए ।

१० वर्षे सशस्त्र विद्रोहपछि तत्कालीन नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आउँदा उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बन्दीले अनेक युद्ध अपराधसम्बन्धी मुद्दा मामिला गरे ।

तर, हाल तत्कालीन प्रधानमन्त्री केपी ओलीले ५ पुस र ८ जेठको प्रतिनिधिसभा विघटन गर्दा मुद्दाको पक्षबाट बहस गरेका थिए । मुद्दाको पक्ष वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेता नेपालसहित १३९ जना सांसद थिए ।

मुद्दा पनि पक्षले जित्यो । यसपछि गठबन्धनका नेतहरूसँग उहाँले मन्त्रीका लागि आन्तरिक रूपमा छलफल तीव्र पारेको उहाँ निकट एक कानुन व्यवसायी बताउँछन् ।

‘उहाँ अस्ति गजेन्द्रबहादुर हमाल मन्त्री हुने बेलामै मन्त्री हुने अवस्थामा हुनुहुन्थ्यो र बढी विवाद पनि भयो । त्यसले गर्दा रोकिएको थियो । अहिले उहाँ मन्त्री हुनुभयो’, ती कानुन व्यवसायीले भन्नुभयो ।

बन्दीले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रस्तावलाई १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पास गराउन भूमिका खेलेको पनि बताउँदै आएका छन् । र, उहाँ एकीकृत समाजवादीका अध्यक्ष नेपालका सम्धी सोमप्रसाद पाण्डेका ज्वाइँ हुन् ।

प्रतिक्रिया