सत्ता गठबन्धनबीच स्थानीय तहमा यसरी हुँदैछ तालमेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७८, बिहीबार ०५:२३

काठमाडौं । सत्ता गठबन्धनबीच स्थानीय तहमा तालमेलको सहमति भएपनि मापदण्डको टुंगो लागेको छैन । गठबन्धनको पाँच दलको बैठक बसेर २६ चैत्रभित्र तालमेलको आधार तयार गर्ने सहमति भएको छ ।

स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २०७४ सालमा जितेका ठाउँमा आफ्नै उम्मेदवारलाई पालिका प्रमुखमा उम्मेदवार बनाउने सहमति गरिसकेका छन् । तर, नेकपा एकीकृत समाजवादी नेकपा एमालेबाट फुटेर बनेकाले उसलाई कुन कुन पालिका दिने भन्नेमा सहमति बनेको छैन ।

सहमति अनुसार महानगरपालिकाहरुमध्ये ललितपुर र विराटनगरमा काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र, वीरगञ्जमा जनता समाजवादी पार्टीबाट गठबन्धनका साझा उम्मेदवारका रुपमा मेयरका उम्मेदवार बन्नेछन् । तर, एमालेले जितेको काठमाडौं र पोखरामा काँग्रेस र नेकपा एसको दाबी छ । नेकपा एसले कम्तिमा एक महानगरपालिकामा दाबी गरेको छ । तर, नेकपा एस मानेको छैन । अन्तमा पोखरामा नेकपा एसले लिने वा उपमहानगरपालिकाहरुमा उसले बढी सिट लिने गरी सहमति बन्न सक्ने बुझिएको छ ।

विगतमा जितेका वडाध्यक्ष र वडा सदस्यहरुमा गठबन्धनकै सोही दलका उम्मेदवारलाई अगाडि बढाउने सहमति बनेको छ । तर, एमालेले जितेको वडाको अध्यक्ष देखि सदस्यहरुमा भागवण्डाको कुरा मिलेको छैन । नेकपा एसले राष्ट्रिय सभाको उम्मेदवारको भागवण्डाको प्रतिशतलाई आधार मानेर गर्नुपर्ने अडान राखेको छ ।

यसैगरी, सत्ता गठबन्धनले विभिन्न स्थानीय निकायमा साझा उम्मेदवार तय गर्न थालेका छन् । गुल्मीको मालिका गाउँपालिकामा काँग्रेस, माओवादी र नेकपा एसले उम्मेदवार टुंगो लगाएका छन् । जस अनुसार माओवादीबाट अध्यक्षसहित २ वडाध्यक्ष, काँग्रेसबाट उपाध्यक्षसहित ६ वडाध्यक्ष र नेकपा एसले वडा सदस्यहरु पाउने गरी कुरा मिलेको छ ।

गठबन्धन दलहरु केन्द्रबाटै निर्देशन बमोजिम तालमेल गरी साझा उम्मेदवार तय गर्न जुटेका छन् । देशभर तालमेलका लागि केन्द्रबाट निर्देशन भएबमोजिम उम्मेदवार तय हुन थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१