न्युयोर्क निवासी पासाङ शेर्पाको पुस्तक ‘कोरोना कथा’ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७८, बुधबार ०४:११

काठमाडौं । अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ ।

वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले पुस्तक विमोचन गर्दै कोरोना महामारीसँग जुधेको सङ्घर्षशील कथालाई सम्बोधन गरेको पुस्तकले नेपाली लेखन क्षेत्रमा आयाम थपेको बताए ।

नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले महामारीको सङ्घर्ष र भोगाइलाई सटिकरूपमा समेटिएको कृति धेरैका लागि सन्देशमूलक रहेको बताइन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले कोरोना महामारीको सचित्र पुस्तक सङ्ग्रहणीय भएको बताए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य माया ठकुरीले कोरोना महामारीको पीर, व्यथा र कथा समेटिएको कोरोना कथा नेपाली साहित्यका लागि थप उपहार भएको बताइन् ।

पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले मार्मिक ग्रन्थले महामारीको प्रभाव र जनजीवनलाई उजागर गरेको उल्लेख गरे । पुस्तकका लेखक शेर्पाले भिडियो सन्देशमार्फत कोरोना महामारीबाट ग्रसित अमेरिकाको जनजीवन, नेपाली समुदायले भोगेको समस्या र सामाजिक विषयवस्तुलाई पुस्तकमा समेटेको बताउनुभयो ।

वरिष्ठ चिकित्सक डा राजेन्द्र बरालले कोरोना कहर विस्तारै सामान्य बनिरहे पनि अझै स्वास्थ्य सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको परिपालना गर्न जरुरी भएको उल्लेख गरे ।

पासाङ शेर्पा
पासाङ–डोल्मा फाउन्डेशनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको मूल्य नेपाली रु ५०० र अमेरिकी डलर २५ रहेको छ । कूल ५६६ पृष्ठको पुस्तकमा कोरोनाअघिको संसार, लकडाउनमा घर थन्किँदा, राहतको सेरोफेरो, लकडाउनपछिको जीवन लगायतका विषयमा संस्मरण समेटिएको छ ।

गीत लेखनपछि पुस्तक लेखनमा

यसअगाडि शेर्पाबाट रचित ‘सयौं डाँडा काट्दै आएँ’ लगायतका गीतहरु बजारमा आइसकेका छन् । उनीबाट रचित ६ वटा गीतहरु रिलिज भइसकेका छन् । उनका झण्डै आधादर्जन गीतहरु या त रेकर्ड भएर रिलिज गर्न बाँकी छन् या त रेकर्डका क्रममा छन् । उपयुक्त समय आएपछि रिलिज गर्दै जाने शेर्पाको योजना छ ।

गीतकार शेर्पाको पहिलो गीत झण्डै २१ बर्ष अगाडि रेकर्ड भएको थियो । ‘तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ’ बोलेका उक्त गीत लाक्पा शेर्पाले गाएका थिए । उक्त गीत निकै चर्चित गीत समेत हो ।

सन् २००४ को डिसेम्बरमा अमेरिका आएपछि उनी आफैले पनि एउटा परदेशीले भोग्ने समस्याहरु भोगे । विभिन्न खाले संघर्षहरु गरे । अमेरिकामा आएर कपाल काट्ने काम सुरु गरे ।

सन् २०१२ मा उनले न्युयोर्कको ज्याक्सन हाइटमा पासाङ स्ट्राइकिङ स्टाइल खोले । अहिले उनी न्युयोर्कका चर्चित नेपाली हेयर स्टाइलिस्ट हुन् । उनको पासाङ स्ट्राइकिङ अहिले ब्राण्डको रुपमा स्थापित भएको छ ।

पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइन’ र ‘नरोउ तिमी’ लगायतका गीतहरु निकै चर्चित छन् । ‘नरोउ तिमी’ बोलको गीत युट्युबमामात्र ७ मिलियन भन्दा धेरैपटक हेरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०