दुई मुख्यमन्त्री: उत्तराखण्डमा धामी पराजित, यूपीमा योगीको कीर्तिमानी जीत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७८, शुक्रबार ०५:२१

काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतका दुई राज्यमा विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।

नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम आएको हो।

निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए। तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन्।

दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए। प्राप्त मतपरिणामअनुसार दुबै प्रदेशमा भाजपाले पुन: बहुमत हासिल गरे पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुस्कर सिंह धामी पराजित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पुर्ख्यौली थलो नेपाल भएका र नेपालमा थुप्रै नातासम्बन्ध भएका धामी भाजपाबाट खटिमा क्षेत्रमा चुनाव लडेका थिए। उनलाई उत्तराखण्ड कंग्रेसका अध्यक्ष भुवन कापडीले पराजित गरेका हुन्।

कुल खसेको ९१ हजार ३२५ मतमध्ये विजयी भएका कपाडीले ४७ हजार ६२६ मत प्राप्त गरे। ४० हजार ६७५ मत पाएका धामी झण्डै ७ हजार मतअन्तरले पराजित भए। उत्तराखण्डमा भाजपाले ७० मध्ये ४७ सिटमा अग्रता लिएको छ।

भारतीय सञ्चारमाध्यमकाअनुसार गोरखपुरबाट चुनाव लडेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने भारी मतले विजयी भएका छन्। उनी आफूमात्रै विजय भएनन्। पार्टीको स्पष्ट बहुमत पनि सुनिश्चित गरेका छन्।

पहिलोपटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका योगीले कीर्तिमानी जीत हासिल गरेका छन्। गोरखपुर सीटमा ५४ हजार ८५८ को फराकिलो अन्तरले जितेका योगीले ८५ हजार ३५६ मत प्राप्त गरे।

प्रतिद्वन्द्वी समाजवादी पार्टीकी उम्मेदवार सुभवती शुक्लाले ३० हजार ४९८ मत पाइन्। आजाद समाज पार्टीका प्रमुख चन्द्रशेखर आजादले मात्र ४ हजार ५०१ मत प्राप्त गरे।

व्यक्तिगत मतपरिणामले मात्रै होइन योगीले उत्तर प्रदेशमा एउटै पार्टी दुई कार्यकाल लगातार सरकार सञ्चालन गर्ने कीर्तिमान कायम गरेका छन्। उत्तरप्रदेशको इतिहासमा कुनै पनि पार्टीले दोहोर्‍याएर सत्ता चलाएको उदाहरण छैन।

यस हिसाबले मत परिणामको फराकिलो अग्रता र दोस्रो कार्यकालका लागि सत्ता सञ्चालन गर्ने कीर्तिमान योगीले कायम गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१