काठमाडौंको नागार्जुनमा पूरै परिवारले विष पिएर आत्महत्या गर्न खोज्नुको कारण आर्थिक तनाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७८, बुधबार ०५:३२

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोट डाँडापौवास्थित एक परिवारले विष पिएर आत्महत्या गर्न खोज्नुको कारण खुलेको छ।

घटनास्थलबाट प्रहरीले फेला पारेको सुसाइड नोटबाट आर्थिक तनावका कारण परिवारै आत्महत्या गर्ने स्थितिमा पुगेको खुलेको हो। यद्यपि अनुसन्धान जारी रहेकाले आर्थिक कारण मात्रै हो वा अन्य कारण पनि छन् अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनास्थलमा ‘सुसाइड नोट’ भेटिएको बताए। ‘घटनाको कारणभन्दा एउटा फाइनान्सियल कज छ। अर्को रोगको कुरा पनि आएको छ,’ उनले भने, ‘स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। मुख्यतः फाइनान्सियल क्राइसिस देखिएको छ। रोगका सम्बन्धमा औषधि खाइरहेको देखिएको छ। लामो समयदेखि उपचार गरिरहेको देखिएको छ। प्रहरीले विस्तारै कारण पहिल्याउँदैछ।’

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले व्यवसायमा डुबेपछि सामूहिक मृत्युवरणको निर्णय लिएको जानकारी दिए। ‘ऋणदान र व्यवसाय गर्दा सबै डुब्नुभएछ। त्यसपछि सामूहिक रुपमा बसेर अब हाम्रो कतै केही छैन। हामी बाच्नलाई केही बाँकी छैन भनेर सामूहिक विषादी खाने योजना रहेछ। अन्तिम बाटो मर्ने भनेर औषधि खानुभएछ,’ उनले भने।

उनका अनुसार परिवारका घरमूली ३८ वर्षीय भीममान प्रधानका भतिजा सूर्वणमान प्रधानको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भइसकेको छ। घरमूली भीममानसहित उनकी आमा इन्दिरामाया, ३५ वर्षीया मन्दिरा ११ वर्षीया सुप्रिया प्रधानको उपचार भइरहेको छ।

डल्लुमा आफ्नै घर भए पनि उनीहरु डाँडापौवामा डा. बुद्ध पुरीको घरमा भाडामा बस्दै आएका थिए। सोमबार राति ९ बजेतिर बेहोस फेला परेका उनीहरुलाई प्रहरीले उद्धार गरी मनमोहन अस्पताल पुर्‍याएको थियो। घटनास्थलमा विषादीको बोतल र सुसाइड नोट भेटिएको थियो।

मेयरलाई अस्पतालको फोन
नागार्जुनका मेयर बस्नेतले आफूलाई उपचार खर्च तिर्न मनमोहन अस्पतालबाट फोन आएको बताए। ‘जहाँको बासिन्दा भए पनि नेपालको नागरिक हो। मैले अस्पताललाई जति पैसा लाग्छ म तिर्छु, उहाँहरुलाई बचाइदिनुस् भनेको छु। अस्पतालले पहिला उपचार गर्ने हो, पैसाको चिन्ता नगर्नुस् भनेको छु,’ उनले भने।

अस्पतालबाट हालः एकीकृत समाजवादीका प्रमुख सचेतक रहेका सांसद जीवनबहादुर श्रेष्ठले फोन गरेको बस्नेतले बताए। ‘पहिला पैसाको कुरा आयो। मैले पैसाको कुरा नगर्नुस्। उहाँहरुलाई बचाउनुस्। म जति पनि तिर्छु भनेको छु,’ उनले भने।

आफू उपत्यका बाहिर रहेकाले अस्पताल जान नपाएको र साँझसम्म अस्पताल पुगेर कुरा गर्ने उनको भनाइ छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले पनि घटनाको कारक आर्थिक तनाव रहेको प्रारम्भिक विवरणमा देखिएको बताए। ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। आर्थिकदेखि अन्य थुप्रै कारणहरु देखिएका छन्। हामी निष्कर्षमा पुगिसकेका छैनौं,’ उनले भने, ‘समग्रमा आर्थिक विषयमा परिवार अफ्ठेरोमा परेको देखिन्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१