मानवअधिकारकर्मी एवम् अधिवक्ता घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७८, सोमबार ०५:०४

अन्तर्राष्ट्रियस्तरको ‘गान्धी नोबेल पिस अवार्ड–२०२२’ नेपालका यूवा मानवअधिकारकर्मी एवम् अधिवक्ता गणेश प्रसाद घिमिरेले प्राप्त गरेका छन् । शनिबार आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपालले आफनो आधिकारिक वेभसाइट, फेसबुक र इमेलबाट यसबारे जानकारी दिएको छ । अंहिसाको माध्यमबाट मानवअधिकार, शान्ति, सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पु-याएकोमा विश्वभरका व्यक्तिहरुलाई दिइने यो बार्षिक पुरस्कार हो ।

बेलायतको विश्व हिन्दु केन्द्र, साउथ हल, लण्डनमा यही जुन ३ तारिखका दिन भव्य समारोहको बीच यो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । विश्वभरबाट १०४ जनालाई यो पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. लाल बहादुर रानाले जानकारी दिए ।

अधिवक्ता घिमिरे मानवअधिकार तथा सामाजिक न्याय, सञ्चार र शान्तिका क्षेत्रमा विगत २ दशकदेखि क्रियाशील रहँदै आएका छन् । सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीबाट दैनिक चरम मानवअधिकार उल्लंघन हुँदा देशमा स्थायी शान्ति, सबै नागरिकको जीवनरक्षा र मानवअधिकारको मूल्यमान्यताअनुसार सबैले बाँच्न पाउने अधिकार स्थापित होस् भन्ने उद्देश्यले विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले वि.सं. २०६१ सालमा स्थापना गरेको मानवअधिकार पत्रकार संघ (हुर्जा) को संस्थापक कोषाध्यक्ष र पछि २ कार्यकाल (६ वर्षसम्म) संस्थाको महासचिव भएर पनि कार्य गरेको उनी अनुभव रहेको छ । यस्तै उनले इमेज च्यानल टेलिभिजन र बेलायतबाट प्रसारण हुने नेपाली टेलिभिजनमा लामो समयसम्म आबद्ध भएर काम गरेका छन् ।

एम्नेष्टी इन्टरनेशनल नेपाल शाखा समूह ३ काठमाडौंका पूर्व संयोजक उनी हाल एम्नेष्टी इन्टरनेशनल नेपालको आप्रवासी श्रमिक सम्वन्धी राष्ट्रिय कार्य समूहका संयोजक छन् । घिमिरेले मानवअधिकार र स्वतन्त्र पत्रकारका रुपमा समग्र मानवअधिकारको रक्षा, सामाजिक न्याय र नेपाली जनताको मानवअधिकारको रक्षा एवं सम्मान र जीवनरक्षाका लागि एम्नेष्टीका अभियानहरूमा आफनो सक्रिय सहभागी जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१