प्रचण्डले श्रेष्ठलाई आफ्नो बाटोमा जानसक्ने भनेपछि उनी गम्भीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७८, बिहीबार ०६:०२

काठमाडौं । यतिबेला नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गम्भीर छन् । माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा १६ फागुनमा पत्रकार सम्मेलन गरी श्रेष्ठलाई आफ्नो बाटोमा जानसक्ने भनेपछि उनी गम्भीर बनेका हुन् ।

यसै पनि माओवादीभित्र पूर्व एकता केन्द्रबाट आएका नेताहरुलाई जनयुद्ध नलडेको भनी फरक व्यवहार गरिने चर्चा चल्ने गरेको छ । मुख्य पदमा उनीहरुलाई स्वीकार्न कठिन मानिने गरिएको छ ।

माओवादी जनयुद्ध हुँदा तत्कालीन एकता केन्द्रका नेताहरुले बाहिरी मोर्चाबाट महत्वपूर्ण भूमिका निभाउने गरेका थिए । तर, जनयुद्ध नलडेको भनी उनीहरुलाई शान्ति प्रक्रियापछिको एकता पछि फरक व्यवहार गरियो । त्यो भोगाई नारायणकाजी श्रेष्ठले गरेपछि उनी फरक तरिकाले प्रस्तुत हुने सोचमा पुगेको बुझिएको छ ।

श्रेष्ठले आफू पक्षीय पूर्व एकता केन्द्रका नेताहरुसँग बसेर गम्भीर छलफल समेत गरेका छन् । एमसीसी अनुमोदनमा माओवादीका पूर्व एकता केन्द्रका नेताहरु खुलेरै विरोधमा उत्रिए । त्यसप्रति प्रचण्ड आक्रोशित भए । उनले आफ्नै बाटोमा जान सक्ने बताए । प्रचण्डका विश्वासपात्र शक्ति बस्नेतले पनि त्यस्तै भने ।

असन्तुष्ट भएका श्रेष्ठले एमसीसी विरोधी दल र नेताहरुसँग परामर्श थालेका छन् । उनले १८ फागुनको विहानै विप्लवसँग कुराकानी गरे । भेटमा एमसीसीको विरोधमा अभियान चलाउनेबारे छलफल भएको खुलाइसकेका छन् ।

प्रचण्डले १७ फागुनमा हात्तिवन पुगेर श्रेष्ठलाई भेटे । उनले असन्तुष्ट श्रेष्ठलाई मनाउन खोजे । तर, उनी निकै चिन्तित भएको र फरक बाटोमा लाग्नुपर्ने विकल्पबारे पनि सोच्न थालेको बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१