न्यायलाई अवरुद्ध हुन नदिन महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्‍यो : कांग्रेस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७८, सोमबार ०६:२२

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले जनताले न्याय पाउने कुरालाई अवरुद्ध हुन नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको प्रारम्भिक टिप्पणी गरेको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको अवरुद्ध प्रक्रियालाई सूचालु गराउने विशेष व्यवस्था पनि भएकाले सोही अनुसार पार्टीका सांसदसहितले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरिएपनि त्यस विषयमा पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा विस्तृत छलफल नभएको बताउनु भएको हो । बैठकमा सो विषयमा पार्टीका सांसदहरुले जानकारी गराएको तर विस्तृत छलफल भने आईतबारको बैठकमा नभएको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रिय कार्यसम्पादन समितिको बैठकको निर्णय मंगलबार बस्ने बैठकले सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ । प्रवक्ता महतले एमसीसी संसदमा निर्णयार्थ पेश गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान संचालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको बताउनुभयो ।

प्रवक्ता महतले एमसीसी संसदबाट पारित गराउन आफ्नो पार्टीले पहल गर्ने र त्यसका लागि आवश्यक छलफल पार्टीको संसदीय दलमा पनि गर्ने निर्णय गरिएको बताउनुभयो ।

प्रतिक्रिया