योगदान, क्षमता र दक्षताका आधारमा उम्मेदवार चयन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७८, सोमबार ०५:१५

गण्डकी।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको पहिचान गर्ने गरी उम्मेदवार पहिचानको अभियान थाल्न आग्रह गरे यो ।

दलहरुबीचको गठबन्धनबारे पार्टीको स्पष्ट धारणा हुनुपर्नेमा जोड दिँदै नेता पौडेलले चुनाव लड्नका लागि नभई जित्नका लागि हुनुपर्ने भएकाले पार्टी सङ्गठनको विद्यमान अवस्थासमेतलाई दृष्टिगत गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशलाई कृषि, पर्यटन र ऊर्जाका माध्यमबाट समृद्ध बनाउन सकिने जनाउँदै उनले यसको उपयोग गर्न नसकिएको बताए । गण्डकीले राज्यलाई धेरै योगदान दिए पनि राज्यबाट विशेष सहुलियत पाउन नसकेको उल्लेख गर्दै उनले हामी आफैँमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पनि स्वयं बाधक भएको हुनसक्नेमा जोड दिए । एमसिसी जस्ता विषयमा जनतालाई स्पष्ट पार्न यथार्थता बुझाउनुपर्ने उनको भनाइ छ ।

सङ्घीय संरचनाअनुसार बनेको पार्टीको प्रादेशिक समितिले कार्यालय स्थापना गरी आफ्नो काम थाल्नु प्रशंसनीय भएको बताउँदै पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सङ्गठन मजबुद बनाउने गरी लाग्न आग्रह गरे ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले केन्द्रदेखि वडा तहसम्म भ्रष्टाचार मौलाउँदा त्यसले देश, लोकतन्त्र सबैलाई नकारात्मक असर पारिरहेको बताए । भ्रष्टाचारमुक्त राष्ट्र बनाउनेतर्फ लाग्नु आवश्यक भएको उनले बताए । संसद् र न्यायालय अनिर्णयको बन्दी बन्न नहुने उनको भनाइ छ । इतिहासले कांग्रेसलाई दिएको जिम्मेवारीलाई ठीक ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले वर्तमानमा आएको जिम्मेवारीलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताए ।

यसअघि अधिवेशनमा भएका गुटउपगुट अब नरहेको उल्लेख गर्दै गुरुङले एकताबद्धरुपमा आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सबै मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले एमसिसी जस्ता विषयमा नेताको फरकफरक विचारभन्दा पनि संस्थागतरुपमा निर्णय गरी अघि बढ्नुपर्ने बताए । पार्टीका सहमहामन्त्री जीवन परियारले पार्टीले आफ्नो विधानअनुसार सबै प्रदेशमा निर्वाचन सम्पन्न गरी नेतृत्व चयन गरेको जनाउँदै कार्यालय सञ्चालन गरी संस्थागतरुपमा सङ्गठनका गतिविधि बढाउन खोजेकामा गण्डकी प्रदेश कार्यसमितिलाई धन्न्यवाद व्यक्त गरे ।

आगामी दिनमा पार्टीले केन्द्रदेखि वडा तहसम्म नीति अनुसन्धान तथा प्रशिक्षणका कामलाई संस्थागतरुपमा अघि बढाउने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१