सशस्त्रमा महानिरीक्षक बनाउने खेल : को-को छन् दाबेदार ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७८, आईतवार ०६:०६

काठमाडौं।  सशस्त्र प्रहरी बलमा भावी महानिरीक्षकका लागी दौडधुप सुरु भएको छ । सशस्त्रका हालका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे पदावधि सकेर आगामी चैत २८ मा अनिवार्य अवकासमा जांदैछन् । खनाल सशस्त्र प्रहरीमा पुरा कार्यकाल महानिरीक्षक बन्ने भाग्यमानी अधिकारी हुन ।

खनालको अवकाससंगै सशस्त्रको नेतृत्वमा कस्ले बांजी मार्छ भन्ने चर्चा सुरु भएको छ । खनालले अवकास पाएपछी २१ दिनका लागी वरीयतामा एक नम्बरमा रहेका एआईजी पुष्पराम केसी महानिरीक्षक बन्नुपर्ने हो । तर, उनकै ब्याचका खनाल केसीलाई बनाउन नहुने भन्दै लविङमा लागेको स्रोत बताउंछ । उनको केसीभन्दा जुनियर एआईजी रामशरण पौडेल वा नियम संशोधन गरेर तल्लो ब्याचबाट आईजिपी बनाउने दाउ छ ।

खनालको खेल सफल भयो भने दुवै जना नहुने सम्भावना समेत छ । त्यसपछी उनको त्योभन्दा तल्लो ब्याचबाट महानिरीक्षक बनाउने चाहंना छ । खनालले आईजिपी बनाउन खोजेका डिआईजी नारायणदत्त पौडेल वरियतामा दोस्रो नम्बरमा छन् ।

सशस्त्रमा एआईजीको दरबन्दी थपका लागी तिव्र लविङ भएपनि अन्ततः तत्काल एआईजीको दरबन्दी भने थप नहुने भएको छ । डीआईजी खड्गजीत राई र मन्दीप श्रेष्ठलाई एआईजी बनाउन दरबन्दी थपको लागी पहल भएपनि अन्ततः अव त्यो खेल असफल भएको छ । दुवै जना यही माघ २६ मा अनिवार्य अवकाशमा जांदैछन् । त्यसका लागी उनिहरु विदामा समेत बसिसकेको स्रोत बताउंछ ।

दुवै जना अनिवार्य अवकासमा जाने भएपछि सशस्त्रमा एआईजीको दरबन्दी थप्ने तयारी छ । त्यसको लागी बढुवाको एक नम्बरमा रहेका डिआईजी राजु अर्याल समेत सदस्य रहेको कार्यदल समेत गठन भएको छ । त्यसले दरबन्दी थपको लागी गृहकार्य सुरु गरिसकेको छ ।

एक जनाको दरबन्दी थप भएको अवस्थामा अर्याललाई नै बढुवा गरिने सम्भावना बढी छ । किनभने उनि वरियता र कार्यसम्पादन दुवै हिसावले अघि छन् । तर, एआईजीको बढुवामा दोस्रो नम्बरमा रहेका नारायण दत्त पौडेल र तेस्रो नम्बरमा रहेका सिपी गौतम पनि रेसमा छन् ।

सरकार र सशस्त्र नेतृत्व दुवै चैतमा एआईजीको दरबन्दी स्विकृत गर्ने खेलमा छ । महानिरीक्षक खनालको मुद्दा अख्तियारमा समेत छ । संगठनभित्र पनि उनले आर्थिक पारदर्शीता नदेखाएकाले भावी नेतृत्व आफु अनुकुल ल्याउन उनको दौडधूप जारी छ । खनालले अहिले पौडेलको पक्षमा खुलेपनि अन्तिममा जसको पल्ला भारी भयो त्यतै ढल्किने सम्भावना रहेको उनि निकट स्रोत बताउंछ ।

खनालले पछिल्लो समय महानिरीक्षकका प्रतिस्पर्धी अर्याल र पौडेल दुवै जनालाई समदुरीमा राखेको सशस्त्रभित्र चर्चा छ । यदी उनले चाहेको भए अहिले नै एआईजीको दरबन्दी थप हुने अवस्था थियो । तर, खनालले अन्तिम समयसम्म पनि आफु पक्षमा रहेको भन्दै राई र श्रेष्ठलाई भ्रममा राखेको बताइन्छ । यदी एआईजीको दरबन्दी थप भएको भए दुईमध्ये एक जना आईजीपी बन्ने पक्कापक्की जस्तै थियो ।

एआईजीको दरबन्दी तत्काल नथप्न अर्याल,पौडेल र गौतम तिनै जना सक्रिय थिए । अझ डिआईजी पौडेल त एआईजीको दरबन्दी दुई जना बनाउन कांग्रेस र माओवादी नेताहरुको घरदैलो गरिरहेका छन् । एक जना एआईजीको दरबन्दी मात्र थप हुंदा अर्याल बन्ने सम्भावना भएकाले उनि दुई जनाको दरबन्दी थप्नुपर्ने लविङमा लागेका हुन ।

डीआईजीद्वय अर्याल र पौडेल १८ चैत २०५४ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् भने डीआईजी गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए । तिनै जनामध्ये अर्यालको महानिरीक्षक बन्ने सम्भावना बढी रहेको स्रोत बताउंछ । यदी उनि चार वर्ष महानिरीक्षक बनेको खण्डमा पौडेलसंग सेवाअवधीले गर्दा २२ महिना सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने अवसर बांकी नै हुनेछ । यदी गौतमले बाजी मारे भने दुवै जनाले एआईजीमा अवकास पाउनेछन् ।

तिनै तिहको निर्वाचन नजिकै आउंदा सरकारले सुरक्षा निकायको नेतृत्वमा आफु अनुकुल अधिकारीलाई ल्याउन चाहेको देखिन्छ । सशस्त्र प्रहरीमा मात्र हैन नेपाल प्रहरीमा समेत एआईजी दरबन्दी थप गरेर भएपनि निकट अधिकारीलाई नेतृत्वमा ल्याउने खेल जारी नै छ । सशस्त्रका डिआईजी पौडेल र अर्याल दुबै जनाको अहिलेको सरकारसंग निकट सम्बन्ध छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ मा सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नियम ४३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु मध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्नेछ भन्ने उल्लेख छ ।

यस्तै यो बुंदालाई प्रस्ट्याउदै नियमको प्रयोजनका लागि ‘कार्यकुशलता’ भन्नाले नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफुभन्दा मुनिको सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई सम्झनुपर्छ भन्ने उल्लेख छ ।

प्रतिक्रिया